काठमाडौं।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत देशका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ।
बैंकले विभिन्न समयमा आफूसँग एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराजबहादुर सिंह र स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्तिअन्तर्गत प्रति विद्यार्थी ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ।
यसअन्तर्गत श्री नन्दी माध्यमिक विद्यालय, नक्सालमा कक्षा ९ मा अध्ययनरत विपिन बुढाले स्व. लक्ष्मण बाबु श्रेष्ठ छात्रवृत्ति प्राप्त गरेका छन्। उक्त छात्रवृत्ति स्व. श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापकमार्फत हस्तान्तरण गरेका थिए।
त्यस्तै, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर (पर्सा) मा अध्ययनरत अनिशा शाहलाई स्व. हरिप्रसाद गिरि छात्रवृत्ति, श्री शारदा माध्यमिक विद्यालय, धनगढी (कैलाली) की कक्षा ९ की छात्रा गुञ्जन सुनारलाई स्व. नवराजबहादुर सिंह छात्रवृत्ति, तथा श्री अमर माध्यमिक विद्यालय, हेटौंडा (मकवानपुर) मा अध्ययनरत कक्षा ९ की छात्रा सुमिना लामिछानेलाई स्व. अशोक श्रेष्ठ छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।
यस्तै, श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर–१४ (झापा) मा अध्ययनरत छात्रा मुस्कान खातुनलाई स्व. सीताराम प्रसाई छात्रवृत्ति यसअघि नै प्रदान गरिएको थियो।
बैंकले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले विगत ३२ वर्षदेखि देशभर वित्तीय सेवा प्रवाह गर्दै आएको छ। हाल बैंकका ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।











प्रतिक्रिया