देउवा स्वागतमा तीन ठाउँमा कार्यकर्ता भेला हुने


काठमाडौँ ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि पार्टीको संस्थापन इतर समूहले काठमाडौंमा व्यापक तयारी गरेको छ।

देउवाको स्वागतका लागि विमानस्थलको गोल्डेन गेट, नमस्ते गेट र तिलगंगा आँखा अस्पताल अगाडि कार्यकर्ता भेला हुने भएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा थाई एयरवेजको उडानमार्फत बिहीबार मध्याह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुगेर देउवाको स्वागत गर्नेछन्। पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सहभागी हुनेछन्।

देउवा विमानस्थलबाट बाहिरिएपछि सांस्कृतिक बाजागाजासहित झाँकीले स्कर्टिङ गर्ने तयारी गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा तथा देउवाको तस्बिरसहित उपस्थित हुन निर्देशन दिइएको छ।

कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला देउवाको स्वदेश फिर्ती हुन लागेको हो।