
कहिलेकाहीँ तपाईंले गरिरहेको संस्कार किन गरिरहेको छु या यो संस्कार नै किन र के भएर यहाँसम्म आइपुग्यो भन्ने विचारहरू दिमागमा खेलाउनुहुन्छ ? अथवा आएको छ ? अर्थात् तपाईं–हामीले मान्दै, मनाउँदै आएको संस्कार वा संस्कृतिको इतिहास बुझ्ने कोशिश गर्नुभएको छ ? हामीले जिउँदै आएको जीवनशैलीको उत्पत्ति कसरी भयो भन्ने हुन्छ कि हुँदैन ? मलाई चाहिँ भएको छ । यस्ता प्रश्नहरू बालमस्तिष्कमा खेलिरहन्थे । यस्ता प्रश्नहरूमध्ये एउटा प्रश्न थियो– ‘हामी आफ्ना आफन्तहरू मर्दा किन जुठो बार्छौं ?’
आज वर्षौंपछि उत्तर पाएको छु । उत्तर छ– किराती समुदायभित्रको याक्थुम मुन्धुमभित्र, याक्थुम मुन्धुमको पनि केसामी नामसामी र च्याब्रुङ मुन्धुमभित्र । अझ रोचक कुरा त के छ भने, यही विषयलाई लिएर नाटक बनेको छ । झ्याउ लाग्दो किताबहरू पनि पढिरहन नपर्ने, न त घण्टौँ स्क्रिनअगाडि झुन्डिरहनुपर्ने, आफूले नबुझ्ने साहित्यिक र प्राविधिक शब्दहरू पनि बुझ्नका लागि घोत्लिनु नपर्ने । रमाइलो अनि ज्ञान पनि, दुवै हातमा लड्डु । अब मूल मुद्दातर्फ ः
याक्थुम समुदायभित्र विभिन्न मुन्धुमहरूमध्ये केसामी–नामसामी मुन्धुममा पर्ने यो कथामा दुई प्रमुख पात्रहरूको नामबाट नामाकरण गरिएको रहेछ । नाटकमा सृष्टिमा उज्यालो–अँध्यारो, आदि–अन्त्य, मानव र दानवबीचको फरक र आफ्नो आचरणले आफ्नै जीवनलाई कसरी सँगालिरहेको हुन्छ भन्ने कुरा प्रस्तुत गरिएको छ । रिस, डाह, लोभ, धैर्यता, अनुशासनले जीवनमा के–कस्तो असर पार्छ ? यसमा उत्तर पाइन्छ ।
यो नाटकलाई मुन्धुमदेखि मञ्चसम्म ल्याउने प्रयास गरेका कलाकार÷लेखक याशेली योङहाङ भन्छन्, ‘केसामी नामसामी भन्नेबित्तिकै आफैँमा असंख्य दर्शनहरूले भरिएको एउटा मिथक हो, कथा हो । जुन कथाले लिम्बू जातिहरूलाई बाँच्न सिकायो, युद्ध गर्न सिकायो, संयमित हुन सिकायो । विशेषतः दानवीय आत्माबाट कसरी मानवीय आत्मातिर जाने भन्न सिकायो । केसामी नामसामी मुन्धुम दुई दाजुभाइको कथा मात्रै होइन, एउटा आमा अर्थात् सृष्टिको कथा पनि हो र धर्तीको कथा पनि हो । अनि एउटा ढुंगाको र सम्पूर्ण प्रकृतिहरूको कथा पनि हो ।’
यो केवल मुन्धुम मात्र होइन, यसभित्र अनेकौँ दार्शनिक पक्ष लुकेका छन् । संसारभरिका मान्छेमा रहेको मानवीय अस्तित्व अनि दानवीयता फरक विचारहरुमा समेत सृष्टिले गर्ने समानताको ज्ञान पाइन्छ । मान्छेको गुणसँग कोमल फूलहरुको सुमधुर प्रतिकात्मक शैली, पशु–प्राणीप्रतिको प्रेमिल सम्बन्ध, युद्ध या थालिएको कुनै काममा अन्तिमसम्म पनि लड्ने साहस र विवेकको प्रयोग, बाँच्नको लागि खाद्य र अखाद्य खाना र मांससमेतको सटिक ज्ञान आदि अनेकौँ ज्ञानहरु केसामी नामसामी मुन्धुमको मर्म र दर्शनहरु हुन् ।
उँधौली–उँभौली कसरी प्राकृतिक चाड हो ? याक्थुम या किराँतीहरू कसरी प्रकृतिपूजक हुन् ? भन्ने कुराहरूसमेत नाटकमा रहेका हरेक स–साना घटनाले पुष्टि गरेका छन् । सिकारी कालदेखि कसरी अनुशासन र धर्मका कुराहरू रहँदै आएका छन् र सिकारीले पालना गरे÷नगरेको अनुशासनको समेत औचित्य देखिन्छ । यस्ता चिजले कसरी हाम्रो जीवन सरल, सहज र सुन्दर बनाएको छ ? सिकार गर्दा पनि सिकारीको अनुशासन र धर्मलाई समेत पालना गर्नुपर्छ भन्ने सन्देशले जीवनमा नियमको महत्वलाई बुझाउँछ ।
आमाले दुई छोराहरूलाई गरेको दुई फरक व्यवहारले त झन् हामीलाई प्रकृतिको प्रकृति, प्रवृत्ति र महानता देखाएको छ । अहिलेका राजनीतिक व्यक्तित्वहरूलाई राम्रै सन्देश दिन खोजेको छ । अझ सीधा कुरामा भन्ने हो भने समानताभन्दा पनि समताका कुराहरू राजनीतिक बहस हुनुपर्ने खुलस्त पारिदिएको छ । मातृत्वको महानता त झन् सन्तानवियोगपछि दुई आमाहरूले गर्ने चरित्रले प्रस्ट नै पारिदिएको छ । यसै कुरालाई जोड दिँदै योङहाङ भन्छन्, ‘केसामी नामसामी मुन्धुमले सृष्टिकै एउटा कठिन परीक्षणमा अविचलित धैर्यताका साथ सत्यलाई अँगाल्ने महान् मातृत्व छर्लङ्ग देखाउँछ ।
नाटकमा याक्थुम समुदायको मुन्धुमी सभ्यताको समाजिक र कूटनीतिक पक्ष मात्रै होइन, संगीतलाई समेत मज्जाले उतारेका छन् निर्देशकले । शायद नाटकको मूल जड नै संगीत भएर होला, यहाँभित्रका विभिन्न पात्रहरूले गाउने पालमले त झन् सुनमा सुगन्ध नै छरेको छ । शायद यो नाटक च्याब्रुङको उत्पत्तिको कथा भएर पनि होला, च्याब्रुङअघिको कथा मात्रै यसमा आएको छ ।
मुन्धुममा वर्णित पात्रहरुसँग घटित घटनासँग सम्बन्धित सम्पूर्ण मुन्धुमी स्थानहरु अझै पनि जस्ताको त्यस्तै हुनुले समेत यो मुन्धुमको सत्यता नमानी धरै पाइन्न । यदि हरकोही मुन्धुमी खोज–अनुसन्धानमा रुचि राख्नेले नाटकमा उल्लिखित ठाउँहरु सुन्नकै लागि भए पनि नाटक हेर्न जानुपर्छ, ठाउँहरूको इतिहास खोज्दा पनि धेरै कुराको उजागर हुनेमा लेखक विश्वस्त छन् ।











प्रतिक्रिया