जितको उत्सव मनाउँदा तीन जनाको निधन


लन्डन, (एजेन्सी) ।

मेक्सिकोको ऐतिहासिक जितपछि लाखौं समर्थक सडकमा खुशीयाली मनाउन उत्रेको क्रममा तीन जनाको ज्यान गएको छ । २०२६ फिफा विश्वकपमा मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई २–० ले हराएको हो । यो जितपछि खुशीयाली मनाउने क्रममा लाखौं समर्थकहरू एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरपर जम्मा भएका थिए ।

अत्याधिक भीडका कारण मानिसहरू एकअर्कामाथि थिचिँदा ४४ वर्षीय एक पुरुष र १९ वर्षीया एक महिलाको घटनास्थलमै निधन भएको थियो । एक जना ४८ वर्षीया महिलाको भने उपचारको क्रममा अस्पतालमा निधन भएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका थिए ।

इक्वेडरमाथिको जित सहआयोजक मेक्सिकोको लागि विशेष मानिएको छ । सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै टोली अन्तिम १६ मा पुगेको हो ।