काठमाडौं ।
फिफाद्वारा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन लगाएपछि नेपालले एएफसी महिला च्याम्पियन्स लिग २०२६÷२७ खेल्न नपाउने संभावना बढेको छ ।
एन्फाको दाबीअनुसार यो प्रतियोगिताको लागि नेपाल एपीएफ क्लबको नाम एसियाली फुटबल महासंघ (एएफसी) लाई पठाएको थियो । तर, एएफसीले मंगलबार सार्वजनिक गरिएको प्रतियोगिताको सूचीमा नेपालको कुनै पनि क्लबको नाम थिएन ।
यसअघि घरेलु महिला लिग स्थगित भएको थियो । एन्फाको अनुसार गत सिजनमा एपीएफ विजेता भएको आधारमा सो क्लबको नाम पठाएको थियो । एन्फाले एपीएफ क्लबको नेपालको प्रतिनिधिको रुपमा मनोनयन गरी दर्ता गरिसकेको बतायो ।
एएफसीले केही दिनअघि मात्रै एन्फालाई फिफाबाट निलम्बन कायम रहेमा नेपालका राष्ट्रिय टोली तथा क्लबहरू सम्बन्धित प्रतियोगिताबाट हटाइने जानकारी गराएको थियो ।
एएफसीले निलम्बन एन्फाका महासचिव किरण राईलाई पठाएको पत्रमा फिफाको २४ जुन २०२६ को परिपत्रलाई आधार बनाउँदै एन्फा हाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि योग्य नरहेको उल्लेख गरेको छ ।
फिफा काउन्सिलले २४ जुन २०२६ देखि लागू हुने गरी एन्फालाई अर्को सूचना नआएसम्म निलम्बन गरेको थियो । निलम्बनपछि फिफा विधानको धारा १३ अनुसार एन्फाले आफ्नो सदस्य अधिकार गुमाएको र एन्फाका प्रतिनिधि टोली तथा क्लब टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने एएफसीले जनाएको छ ।
एन्फालाई जानकारी गराएअनुसार यदि तोकिएका समयसीमाभित्र निलम्बन फुकुवा भएन भने एएफसी महिला च्याम्पियन्स लिग २०२६÷२७ बाट हटाइने छ । उक्त प्रतियोगिताको प्रारम्भिक चरणको ड्र २ जुलाईमा हुँदैछ । यो प्रतियोगिता खेल्न २९ जुनसम्म समस्या समाधान हुनुपर्ने उल्लेख गरिएकोमा उक्त समय कटिसकेको अवस्था छ ।
त्यस्तै, एएफसी यू–१७ महिला एसियन कप चीन २०२७ छनोटका लागि १३ जुलाईसम्म र एएफसी यू–२० एसियन कप चीन २०२७ छनोटका लागि १ अगस्टसम्म निलम्बन फुकुवा नभए नेपाली टोलीले सहभागिता जनाउने पाउने छैन।
एन्फाले यसअघि नै २०२६÷२७ सिजनका विभिन्न एएफसी प्रतियोगिताका लागि आफ्ना टोली र क्लबको नाम दर्ता गराइसकेको थियो । तर‚ फिफाको प्रतिबन्धका कारण ती सहभागिता अहिले अन्योलमा परेको छ ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गरेको हो। प्रतिबन्ध कायम रहेमा नेपाली राष्ट्रिय टोली, उमेर समूहका टोली र क्लबहरूले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर गुमाउनेछन् ।











प्रतिक्रिया