मेक्सिकोको ऐतिहासिक जितपछि लाखौँ समर्थक सडकमा, भीडमा निसास्सिएर ३ जनाको मृत्यु


काठमाडौं ।

२०२६ फिफा विश्वकपमा मेक्सिकोले ४० वर्षपछि नकआउट चरणमा ऐतिहासिक जित हात पारेपछि भएको उल्लासपूर्ण उत्सव दुःखद घटनामा परिणत भएको छ। राजधानी मेक्सिको सिटीमा लाखौँ समर्थक सडकमा उत्रिएर उत्सव मनाउने क्रममा भीडको चापका कारण निसास्सिएर तीन जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। मेक्सिकोले राउन्ड अफ ३२ अन्तर्गत इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएपछि हजारौँ समर्थक ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ स्मारक वरपर जम्मा भएका थिए।

अत्यधिक भीडका कारण मानिसहरू एकअर्कामाथि थिचिँदा ४४ वर्षीय एक पुरुष र १९ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने ४८ वर्षीया अर्की महिलाको उपचारका क्रममा अस्पतालमा निधन भएको जनाइएको छ। स्थानीय आपत्कालीन उद्धार टोलीले दर्जनौँ व्यक्तिलाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ।

घटनापछि मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समर्थकहरूलाई सुरक्षित र जिम्मेवार ढंगले उत्सव मनाउन आग्रह गरेकी छन्। यो जित मेक्सिकोका लागि विशेष मानिएको छ। सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै टोली अन्तिम १६ मा पुगेको हो। तर ऐतिहासिक सफलताको खुसी मनाउने क्रममा भएको भीड व्यवस्थापनको कमजोरीले उत्सवलाई शोकमा परिणत गरेको छ।