काठमाडौं, (नेस)।
फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेल सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लाग्दा १६ टोली भने समूह चरणबाटै बाहिरिएका छन् । जसमा दुई पटकको पूर्व विजेता उरुग्वे पनि सामेल रह्यो ।
१२ समूहमा विभाजन गरेर समूह चरणको खेल खेलाइएको थियो । जसमा १२ वटै समूहको चौथो स्थानमा रहने १२ टोली र तेस्रो हुने मध्ये उत्कृष्ट ८ मा नपरेका ४ गरी १६ टोलीको विश्वकप यात्रा समूह चरणमै सकिएको हो ।
नकआउटमा पुग्न नसकेका १६ टोलीहरूमा सर्वाधिक एसियाका रहेका छन् ।
एसियाबाट ९ टोली यस विश्वकपमा खेलेपनि २ टोली जापान र अस्टे«लियाले मात्रै समूह चरण पार गर्न सके । समूह चरणबाटै बाहिरिएका अन्य ७ टोलीहरूमा दक्षिण कोरिया, इरान, जोर्डन, इराक, साउदी अरेबिया, उज्बेकिस्तान र कतार हुन् ।
यस्तै, युरोपका ३ टोलीहरू समूह चरणबाट बाहिरिए । ती असफल टोलीहरू चेक रिपब्लिक, स्कटल्यान्ड र टर्की हुन् । यसैगरी ओसियानाबाट सहभागि एक मात्र टोली न्यूजील्यान्डको यात्रा पनि समूह चरणसम्मै रह्यो । यस्तै, दुईपटकको विश्व च्याम्पियन युरुग्वे पनि समूह चरणबाट उम्किन सकेन । युरुग्वे दक्षिण अमेरिकाबाट सहभागि भएको मध्ये समूह चरणबाट बाहिरिने एक मात्र टोली पनि हो ।
अफ्रिकाबाट भने १० टोलीहरूले सहभागिता जनाएकोमा ९ टोलीले नकआउट चरणमा स्थान बनाए । तर, एक टोली अभागी बन्यो । त्यो हो ट्युनिसिया । उत्तर अमेरिका र कन्काफबाट सहभागि भएका टोलीहरू पानामा, हाइटी र कुरासाओ पनि समूह चरणबाटै बाहिरिए ।











प्रतिक्रिया