ब्राजिलको खेल हेर्न २० हजार डलर तिरे दर्शकले, विश्वकप टिकट इतिहासकै महँगो !


काठमाडौं ।

फिफा विश्वकप–२०२६ इतिहासकै सबैभन्दा महँगो विश्वकप बनेको छ। टिकटको मूल्य आकाशिएसँगै ब्राजिलको नकआउट चरणको खेल हेर्न एक दर्शकले करिब २० हजार अमेरिकी डलर (नेपाली मुद्रा अनुसार ३० लाख रुपैयाँभन्दा बढी) खर्च गरेको खुलासा भएको छ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकपमा टिकटको मूल्य मागअनुसार परिवर्तन हुने ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरिएकाले लोकप्रिय टोलीका खेलहरूको टिकट अभूतपूर्व रूपमा महँगिएको हो। ब्राजिलका खेलहरूमा अत्यधिक माग देखिएपछि केही प्रिमियम र आतिथ्य (हस्पिटालिटी) टिकटको मूल्य २० हजार डलरसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ब्राजिल–जापानबीचको अन्तिम–३२ को खेलका सामान्य पुनर्बिक्री टिकटसमेत करिब १ हजार डलर आसपासमा कारोबार भएका थिए। विश्वकप आयोजक फिफाले भने उच्च टिकट मूल्यलाई बजारको मागअनुसारको मूल्य निर्धारण भएको बताएको छ। यद्यपि समर्थक, खेल विश्लेषक र पूर्वखेलाडीहरूले अत्यधिक महँगो टिकटले विश्वकप धनी वर्गको पहुँचमा मात्र सीमित हुने खतरा बढेको भन्दै आलोचना गरिरहेका छन्। यसबीच लक्जरी हस्पिटालिटी प्याकेजहरू लाखौँ डलरमा बिक्री भएको र फाइनलका विशेष प्याकेज केही घण्टामै बिक्री भएको विवरण सार्वजनिक भएपछि विश्वकप–२०२६ लाई इतिहासकै सबैभन्दा महँगो विश्वकप भनेर चर्चा हुन थालेको छ।