तेस्रो भएर अगाडि बढेका ८ भाग्यमानी टोली


वासिंटन, (एजेन्सी) ।

फिफा विश्वकपको इतिहासमै पहिलो पटक ४८ टोली भिड्दा नकआउट चरणको समीकरण निकै रोमाञ्चक बनेको छ । आइतबार बिहान समूह चरणका खेलहरू सकिएसँगै १२ समूहका शीर्ष दुई टोलीसहित तेस्रो स्थानका उत्कृष्ट ८ भाग्यमानी राष्ट्रहरूले अर्को चरणको यात्रा तय गरेका छन् । नयाँ ढाँचाका कारण अन्तिम खेलसम्म कौतुहलता कायम रहँदा डीआर कंगो, स्विडेन, घाना, बोस्निया एन्ड हर्जगोभिना, पाराग्वे र अल्जेरिया समान ४ अंकका साथ अगाडि बढेका छन् ।

यसैक्रममा, अन्तिम खेलमा चार पटकको च्याम्पियन जर्मनीलाई २–१ ले स्तब्ध पार्दै ४ अंक जोडेको इक्वेडर र इराकलाई ५–० को फराकिलो अन्तरले हराएर ३ अंक र उत्कृष्ट गोल अन्तरका आधारमा सेनेगलले पनि नकआउटमा स्थान सुरक्षित गरे । अब यी टोलीहरूले क्रमशः इङ्ल्यान्ड, फ्रान्स, कोलम्बिया, मेक्सिको, अमेरिका, जर्मनी, बेल्जियम र स्विट्जरल्यान्डजस्ता बलिया टोलीहरूसँग भिड्नेछन् । यो नयाँ नियमले साना टोलीहरूलाई अन्तिम समयसम्म आशा जगाए पनि समान परिस्थितिमा रहेका इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे भने तेस्रो स्थानमै सीमित हुँदै बाहिरिन बाध्य भए ।

अफ्रिकाको कीर्तिमान

अफ्रिकाबाट सहभागी भएका १० मध्ये ९ टिमले नकआउट चरणमा पुगेर विश्वकपमा एक दुर्लभ कीर्तिमान राखेका छन् । विश्वकपको इतिहासमा पहिलोपटक अफ्रिकाका ९ टिमले नकआउट चरणमा पुगेका हुन् । अफ्रिकी महादेशबाट सहभागी टिमहरू मोरक्को, घाना, नयाँ टिम केप भर्डे, अल्जेरिया, सेनेगल, डीआर कंगो, इजिप्ट, आइभरी कोस्ट र दक्षिण अफ्रिकाले अन्तिम ३२ मा प्रतिस्पर्धा गर्नेछन् । अफ्रिकाको प्रतिनिधि गर्नेमा कारासाओमात्रै समूह चरणबाट बाहिरिएको छ ।

केन सदाबहार गोलकर्ता

ह्यारि केन इंग्ल्यान्डको विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने फुटबलर बनेका छन् । इंग्ल्यान्डले पानामाविरुद्ध २–० को जित निकालेको खेलमा कप्तान केनले एक गोलको योगदान दिएका हुन् । जुन गोलले उनलाई इंग्लिस फुटबलमा सदाबहार गोलकर्ता बनायो । केनले यस विश्वकपमा ३ गोल गरेसँगै कुल ११ विश्वकप गोलसहित पूर्व फुटबलर गेरी लिनेकरको कीर्तिमान तोडेका हुन् । लिनेकरले १० गोल गरेका थिए । उनले १९८६ र १९९० को विश्वकप खेलेका थिए ।

इरानको दुर्भाग्य

इरानले समूहको अन्तिम खेलमा इजिप्टविरुद्ध २–१ को जित पक्का गरिसकेको थियो । तर, भीएआरले त्यो विजयी गोललाई मान्यता नदिएपछि इरानले यो खेल १–१ बराबरी नतिजा बेहोर्न बाध्य भयो । यो जितले इरान अन्तिम ३२ मा पुग्ने पक्का थियो । तर, अन्तिममा गोल अमान्य भएपछि इरानको दुर्भाग्य भयो ।

३ अंक जोडेर पनि इरानको अन्तिम ३२ पुग्ने आस बाँकी नै थियो । इरानलाई नकआउटमा पुग्ने अवस्था आइतबार बिहान भएको खेल निर्णायक थियो । समूह जे को अस्ट्रिया र अल्जेरियाबीच खेलमा जित हारकै नतिजा निस्कनु पर्ने थियो । अन्तिममा अल्जेरियाले ३–२ को जित पक्काजस्तै भइसकेको थियो । यो अवस्थामा इरान नकआउटमा पुगिसकेको थियो । तर, केही सेकेन्डमै अस्ट्रियाले गोल फर्काएपछि इरानको लागि दुर्भाग्य बन्यो ।