विश्वकप २०२६ : अर्जेन्टिनाको सानदार क्लिनस्विप, मेसीको गोल संख्या १९


वासिंटन, (एजेन्सी) ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आफ्नो अपराजित साख जोगाउँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा धमाकेदार प्रवेश गरेको छ ।

डालास स्टेडियममा आइतबार बिहान भएको समूह ‘जे’ को अन्तिम भिडन्तमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पाखा लगायो । सुरुआतदेखि नै एकछत्र राज गरेको अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अस्ट्रियालाई २–० ले हराउँदै बलियो रूपमा प्रस्तुत भएको थियो । जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाका तर्फबाट तीन फरक खेलाडी चम्किए । जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिकमार्फत टोलीलाई सुरुवाती अग्रता दिलाए भने लाउटारो मार्टिनेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा जोर्डनका मुसा अल–तमारीले एक गोल फर्काएर पुनरागमनको झिनो आशा जगाए पनि ८० औं मिनेटमा मैदान छिरेका कप्तान लियोनल मेस्सीले सानदार गोल गर्दै जोर्डनको खेलमा फर्कने सपना चकनाचुर पारिदिए । उक्त गोलसँगै विश्वकपमा मेसीको कुल गोलसंख्या १९ पुगेको छ । मेसीले आफ्नै नाममा रहेको १८ गोलको कीर्तिमानलाई उछिनेका हुन् । ३ खेलबाट स्पष्ट ९ अंक जोड्दै अर्जेन्टिना समूहको शीर्ष स्थानमा रह्यो । यही समूहबाट समान चार–चार अंकसहित अल्जेरिया र अस्ट्रिया पनि अघिल्लो चरण प्रवेश गर्दा जोर्डन भने रित्तो हात घर फर्कियो ।

अल्जेरिया र अस्ट्रिया नकआउटमा
समूह ‘जे’ को अर्को खेलमा अल्जेरिया र अस्ट्रियाबीच ३–३ गोलको बराबरी भएको छ । अस्ट्रियाका मार्को अर्नाटोभिचले २८ औं मिनेटमा सुरुवाती गोल गरे पनि ४५औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले बराबरी गरे । दोस्रो हाफमा मार्सल सबिट्जरले अस्ट्रियालाई २–१ को अग्रता दिलाए । तर, लगत्तै अल्जेरियाका रियाद महरेजले खेल २–२ को स्थितिमा ल्याए । खेलको असली ड्रामा इन्जुरी समयमा देखियो ।

९३ औं मिनेटमा महरेजले गोल गर्दै अल्जेरियालाई ३–२ को रोमाञ्चक अग्रता दिलाए । तर, ९६ औं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले निर्णायक गोल फर्काउँदै खेल ३–३ को बराबरीमा टुंग्याए । यो नतिजासँगै ४ अंक जोडेर अस्ट्रिया दोस्रो र गोलअन्तरका आधारमा अल्जेरिया तेस्रो बन्दै नकआउट चरणमा पुग्न सफल भए । यस समूहमा अर्जेन्टिना शीर्ष स्थानमा रह्यो भने जोर्डन बाहिरियो ।

।इंग्ल्यान्डको सानदार जित, पानामा बाहिरियो
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अन्तिम खेलमा पानामालाई २–० ले पन्छाउँदै इंग्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्कस्थित न्यु जर्सी रंगशालामा भएको तनावपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्ड चम्कियो ।

६२औं मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने त्यसको पाँच मिनेटभित्रै कप्तान ह्यारी केनले अर्को गोल थप्दै जित पक्का गरे । ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा ६ अंकसहित क्रोएसिया दोस्रो र ४ अंकसहित घाना तेस्रो हुँदै नकआउटमा पुगे । पानामा भने अंकविहीन बन्दै बाहिरियो ।