‘बाल विवाहको असर’ विषयक वक्तृत्वकलामा सुस्मिता सुनार प्रथम

1.22k
Shares

लमजुङ।

लमजुङको दोर्दी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय ‘बाल विवाहको असर’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता चैतन्योदय माध्यमिक विद्यालयको आयोजना तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको आर्थिक सहयोगमा भएको हो । 

प्रतियोगितामा फलेनी माध्यमिक विद्यालयकी सुस्मिता सुनार प्रथम, पाचोक माध्यमिक विद्यालयकी आयुस्मा गुरुङ द्वितीय तथा चैतन्योदय माध्यमिक विद्यालयकी ऋतु विक तृतीय भएकी छन् ।

प्रथम हुनेलाई २ हजार ५ सय रुपैयाँ बराबरको स्टेशनरी सामग्री, द्वितीयलाई २ हजार रुपैयाँ बराबरको स्टेशनरी तथा तृतीयलाई १ हजार ५ सय रुपैयाँ बराबरको स्टेशनरी सामग्री प्रदान गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालका फिल्ड सहजकर्ता अशोक अधिकारीले जानकारी दिनुभयो ।

 बाल विवाह सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि विद्यालय, अभिभावक, स्थानीय तह तथा समुदाय सबैको साझा प्रयास आवश्यक रहेको चैतन्योदय मावि का प्रधानाध्यापक सहर्ष जीवी घिमिरेले बताउनुभयो । यस्ता प्रतियोगिताले विद्यार्थीमा बोल्ने कला विकास हुनुका साथै बाल विवाहविरुद्ध सकारात्मक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

आरसिडिसी नेपालका फिल्ड सहजकर्ता अशोक अधिकारीले बाल विवाह न्यूनीकरण, किशोर–किशोरीमा सचेतना अभिवृद्धि तथा सुरक्षित र गुणस्तरीय भविष्य निर्माण गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। विद्यालयस्तरबाट नै जनचेतना फैलाउँदा बाल विवाह अन्त्य अभियानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानाध्यापक सहर्ष जीवी घिमिरेको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा दोर्दी गाउँपालिका अन्तर्गतका आठवटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक दिपक प्रासद पंगेनीले गर्नुभएको थियो ।