रौतामाई गाउँपालिकाको ६३ करोड ८७ लाखको बजेट प्रस्तुत

752
Shares

उदयपुर ।

रौतामाई गाउँपालिकाको १९ औँ गाउँसभामा ६३ करोड ८७ लाखको बजेट प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले गाउँसभामा ६३ करोड ८७ लाखबराबरको आय व्यय प्रस्तुत गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाका लेखा अधिकृत भुपध्वज रायमाझीका अनुसार आर्थिक वर्ष २०८३। ८४ का लागि ६३ करोड ८७ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ ।

प्रस्तावित आयतर्फ संघीय सरकारको समानीकरण अनुदानबाट १० करोड ३६ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट ८८ लाख ८९ हजार, आन्तरिक आयबाट ९८ लाख ५० हजार, संघीय सरकारको राजस्व बाँडफाँडबाट ९ करोड ९९ लाख ४ हजार तथा संघीय सरकारको सशर्त अनुदानबाट ३२ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी व्ययतर्फ चालु तथा प्रशासनिक खर्चका लागि ११ करोड ४२ लाख ७५ हजार ४ सय ३३ रुपैयाँ विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकासका लागि १२ करोड ४२ लाख ५३ हजार, सामाजिक विकासतर्फ २ करोड १ लाख १० हजार ५ सय ६७, आर्थिक विकासतर्फ ८१ लाख, विपद् व्यवस्थापनतर्फ ७५ लाख तथा सुशासन तथा संस्थागत विकासतर्फ ६४ लाख रुपैयाँ विनियोजन गरिएको लेखा अधिकृत रायमाझीले जानकारी दिनुभयो । गाउँसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै आवश्यक निर्णयहरू समेत गरेको गाउँपालिका अध्यक्ष मगरले बताउनुभयो।