बुटवल .
लुम्बिनी सरकारले ल्याएको आर्थिक वर्ष २०८३-८४ को बजेटमाथि मंगलवार देखि छलफल सुरु भएको छ । तर बजेटप्रति सांसदहरुले विरोध जनाउँदै पुनर्लेखन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् । सोही अनुसार मंगलवारको बैठक सांसदहरूको असन्तुष्टिपछि बुधवारसम्मका लागि स्थगित गरिएको छ ।
बजेटमाथिको छलफलमा सत्ता पक्ष नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपाल तथा प्रतिपक्षी दलहरू नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले बजेट असन्तुलित, नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता र सिद्धान्तसँग मेल खाने गरी नआएको भन्दै विरोध जनाएका थिए ।
बजेट विनियोजन प्रति असन्तुष्ट सांसदहरूले बजेट पुनर्लेखन हुनुपर्ने माग गर्दै यो नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिंदै लगातार विरोध जनाएपछि सभामुख तुलाराम घर्तीले बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको थियो ।
तर, सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि सभामुखले बुधवार एक बजेसम्मका लागि वैठक स्थगित भएको सूचना टाँस गर्नुभएको हो ।
एमाले र कांग्रेसका अधिकांश सांसदहरू बजेट विनियोजनप्रति असन्तुष्ट देखिएका छन । विपक्षी दल मात्र नभई सत्ता पक्षका नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपालका सांसदहरूले समेत बजेट विनियोजन पूर्णतः असन्तुलित भएकाले स्वीकार्य नभएकाले विरोध जनाएका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि असार १ गते ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।











प्रतिक्रिया