म्याग्दी।
प्रदेश अस्पताल बेनी म्याग्दीमा बिहीबारदेखि मृगौला रोग सम्बन्धी विस्तारित डायलाईसीस सेवाको शुभारम्भ भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा मृगौलाको डायलाईसीस गर्ने थप तीनवटा मेसिन जडान गरेसँगै डायलाईसीस सेवा विस्तार गरिएको हो ।

विस्तारित डायलाईसीस सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले प्रदेशभित्र नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख लक्ष्य लिइएको बताउनुभयो । उहाँले दुर्गम जिल्लामा गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तारलाई उच्च प्राथमितामा राखिएको बताउँदै विस्तारित डायलाईसीस सेवाले मृगौलाका पीडितहरुलाई राहत मिल्ने बताउनुभयो ।
मन्त्री पाण्डेले प्रदेश अस्पताल म्याग्दीमा थपिएको डायलाईसीस सेवाले म्याग्दीसहित छिमेकी जिल्लाका नागरिकलाई समेत सहयोग पु¥याउने बताउँदै अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार, जनशक्ति र अन्य सेवा विस्तारमा पहल गर्ने पतिबद्धता जनाउनुभयो । उहाँले जनतासँग प्रत्यक्ष ठोकिने र सरोकार राख्ने स्वास्थ्य संस्थाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा सर्वसाधारण नागरिकहरुको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै यसका लागि अस्पताल प्रशासनले प्रचारप्रसारमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । अस्पताल प्रशासनले व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधिहरु, संघसंस्था, सरोकारवाला सबैसँग समन्वय गरेर अगाडि बढनुपर्ने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नागरिकहरुलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह र अस्पताल बीचको समन्वय तथा सहकार्यलाई सुदृढ बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले अस्पतालमा सेवाको गुणस्तर वृद्धि, जनशक्ति र स्रोतसाधनको व्यवस्थापन तथा सुशासन कायम गराउन जोड दिइएको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले स्वास्थ्य सेवालाई प्रभावकारी, नागरिकमैत्री, पारदर्शी बनाउने कार्यमा सबै पक्षबीच समन्वयको आवश्यकता औंल्याउनुभयो । उहाँले अस्पतालमा सुरक्षा प्रदान गर्ने विषयमा स्थानीय प्रशासन तयार रहेको उल्लेख गर्दै गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले अस्पतालको समग्र अवस्थाको विषयमा जानकारी गराउँदै आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापनमा सहयोग गरिदिन मन्त्री र सचिवको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डाक्टर हेमन्त बाँस्तोलाले अस्पतालको सेवा प्रवाह, उपलब्धिहरु, समस्या तथा चुनौती र विस्तारित डायलाईसीस सेवालगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा प्रदेश अस्पताल बेनी म्याग्दीको गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन मन्त्री पाण्डेले विमोचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विस्तारिक डायलाईसीस सेवा सञ्चालनमा खटिएर महत्वपूर्ण सेवा प्रदान गरेको भन्दै स्वास्थ्यकर्मी र व्यवस्थापन टोलीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा नर्सिङ अधिकृत रमिला तिमिल्सीना, बायो मेडिकल इन्जिनियर सुरेश चौलागाईँ, कार्यालय सहयोगीहरु सावित्री लामिछाने सुवेदी, चित्रप्रसाद प्रसाईँ र भीम किसान रहनुभएको छ । कार्यक्रमको सञ्चालन फार्मेसी अफिसर प्रतिभा शर्माले गर्नुभएको थियो ।

वि.सं. २०७७ साल साउन २५ गते गण्डकी प्रदेश सरकारमार्फत तत्कालीन सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा पाँचवटा मेसिनबाट डायलाईसीस सेवा सुरुवात गरिएको थियो । बीचको समयमा संघ सरकारले दुईवटा मेसिन उपलब्ध गराएकोमा अहिले पुनः प्रदेश सरकारले थप तीनवटा मेसिन उपलब्ध गराएपछि हाल सातवटा मेसिनहरु सञ्चालनमा छन् । यसअघि ३७ जनाले नियमित मृगौला डायलाईसीस सेवा लिइरहेकोमा सेवा विस्तारसँगै अब ४० जना बिरामीले सेवा पाउन थालेका छन्भने ४५ जना सम्मलाई डायलाईसीस सेवा उपलब्ध गराउन सकिने क्षमता रहेको प्रदेश अस्पताल बेनी म्याग्दीले जनाएको छ ।











प्रतिक्रिया