अग्नि इन्कर्पोरेटेडद्वारा महिन्द्राका अत्याधुनिक विद्युतीय एसयूभीहरू केन्द्रित विशेष ग्राहक तथा सम्भावित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न


काठमाडौं ।

नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि.ले द सोल्टी काठमाडौँमा महिन्द्राको नयाँ बोर्न इलेक्ट्रिक सवारी (BEV) केन्द्रित विशेष ग्राहक तथा सम्भावित ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा ९० भन्दा बढी ग्राहक तथा प्रस्पेक्ट ग्राहकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले महिन्द्राका नवीनतम विद्युतीय प्रविधि तथा दिगो यातायात समाधानबारे प्रत्यक्ष अनुभव लिने अवसर प्राप्त गरेको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विशेष हस्तान्तरण समारोहमार्फत करिब १० वटा महिन्द्रा इलेक्ट्रिक एसयूभी एकैसाथ ग्राहकहरूलाई हस्तान्तरण गरिएको थियो।

सहभागीहरूले महिन्द्राका नयाँ बोर्न इलेक्ट्रिक एसयूभी महिन्द्रा बिइ६ (BE 6) र महिन्द्रा एक्सइभी ९इ (XEV 9e) अवलोकन तथा अनुभव गर्ने अवसर पाएको थियो। अत्याधुनिक प्रविधि, भविष्यदर्शी डिजाइन र वातावरणमैत्री गतिशीलताका विशेषताले सुसज्जित यी सवारीहरूले महिन्द्राको विद्युतीय यात्राको नयाँ दिशा प्रस्तुत गरेका थिए। उत्कृष्ट आतिथ्य सेवा तथा सजीव स्याक्सोफोन प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक र अविस्मरणीय बनाएको थियो।

कार्यक्रमका क्रममा अग्नि इन्कर्पोरेटेडका वरिष्ठ प्रतिनिधिहरूले सहभागीहरूसँग अन्तरक्रिया गर्दै दिगो यातायात र नेपालको विद्युतीय सवारी क्षेत्रको भविष्यप्रति महिन्द्राको दृष्टिकोणबारे जानकारी साझा गरेका थिए। कार्यक्रममा भारतस्थित महिन्द्रा एण्ड महिन्द्राका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो, जसले नेपाली बजार तथा विस्तार हुँदै गएको विद्युतीय सवारी पारिस्थितिकी तन्त्रप्रति ब्रान्डको निरन्तर प्रतिबद्धता झल्काएको छ।

यस अवसरमा अग्नि इन्कर्पोरेटेडका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्न तथा ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनी दृढ रहेको बताएका थिए। कार्यक्रमले ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको विकसित हुँदै गएको विद्युतीय सवारी बजारमा महिन्द्राको बढ्दो उपस्थितिलाई समेत उजागर गरेको छ।

अग्नि इन्कर्पोरेटेडले स्वच्छ, दिगो र वातावरणमैत्री यातायात प्रणालीतर्फको रूपान्तरणलाई थप गति दिन आगामी दिनहरूमा पनि देशभर यस्ता ग्राहक केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको थियो।

अग्नि इन्कर्पोरेटेडबारे

अग्नि इन्कर्पोरेटेड प्रा. लि. नेपालमा महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक हो। देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत कम्पनीले महिन्द्राका एसयूभी, विद्युतीय सवारीसाधन तथा व्यावसायिक सवारीहरूको विस्तृत दायरा उपलब्ध गराउँदै आएको छ। उत्कृष्ट ग्राहक अनुभव, भरपर्दो बिक्रीपछिको सेवा तथा दिगो गतिशीलता समाधान प्रदान गर्दै नेपालको अटोमोबाइल क्षेत्रको भविष्य निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता कम्पनीले निरन्तर कायम राखेको छ।

महिन्द्राबारे

सन् १९४५ मा स्थापना भएको महिन्द्रा ग्रुप विश्वका प्रतिष्ठित बहुराष्ट्रिय व्यावसायिक समूहहरूमध्ये एक हो। १०० भन्दा बढी देशमा फैलिएका यसको विभिन्न कम्पनीहरूमा करिब २ लाख ६० हजार कर्मचारी कार्यरत छन्। कृषि उपकरण, युटिलिटी सवारीसाधन, सूचना प्रविधि तथा वित्तीय सेवाजस्ता क्षेत्रमा भारतमा अग्रणी स्थान ओगटेको महिन्द्रा विश्वकै सबैभन्दा ठूलो ट्र्याक्टर उत्पादक कम्पनीसमेत हो।

नवीकरणीय ऊर्जा, कृषि, लजिस्टिक्स, आतिथ्य सेवा तथा रियल इस्टेट क्षेत्रमा समेत बलियो उपस्थिति रहेको महिन्द्रा समूहले वातावरण, सामाजिक उत्तरदायित्व तथा सुशासन (ESG) मा विश्वव्यापी नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको छ। ग्रामीण समृद्धि प्रवर्द्धन गर्ने, शहरी जीवनस्तर सुधार गर्ने तथा समुदाय र सरोकारवालाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित महिन्द्रा समूह निरन्तर अघि बढिरहेको छ।