अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कृषितर्फ उन्मुख गर्ने सातदिने तालिम सम्पन्न

1.13k
Shares

बाजुरा।

बाजुराको सदरमुकाम मार्तडीमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको सातदिने व्यावसायिक कृषि तथा करेसाबारीमा लहरेबाली खेती सम्बन्धी सीप विकास तालिम सोमबार सम्पन्न भएको छ।

सामाजिक विकास कार्यालय बाजुराको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका ३० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। तालिममा करेसाबारी व्यवस्थापन, लहरेबाली खेती, बाख्रापालन तथा कृषि उद्यमशीलतासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

समापन कार्यक्रममा बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले अपाङ्गता भएका व्यक्तिहरू पनि विभिन्न व्यावसायिक तथा आयआर्जनका काममार्फत आत्मनिर्भर बन्न सक्ने बताइन्। उनले समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति हुने विभेद अन्त्य गर्दै सबैले समान अवसर प्राप्त गर्नुपर्नेमा जोड दिइन्।

“अपाङ्गता भएका व्यक्तिहरू समाजका सक्रिय सदस्य हुन्। उनीहरूलाई दया होइन, अवसर र प्रोत्साहन आवश्यक छ,” उपप्रमुख थापाले भनिन्। उनले तालिम लिएर मात्र नबस्न, सिकेका सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन सहभागीहरूलाई आग्रह गरिन्।

तालिमका प्रशिक्षक लालबहादुर मल्लले सात दिनसम्म कृषि तथा पशुपालनका विभिन्न पक्षमा सहजीकरण गरेका थिए। तालिमका क्रममा सहभागीहरूलाई करेसाबारीमा उत्पादन वृद्धि गर्ने तरिका, लहरेबाली खेती, बाख्रापालन तथा स्थानीय स्रोत–साधनको प्रयोग गरी आयआर्जन बढाउने विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा सामाजिक विकास कार्यालय बाजुराका सब–इन्जिनियर डम्मबहादुर थापाले तालिमबाट प्राप्त ज्ञानलाई घरमै प्रयोग गरी व्यावसायिक बन्न सहभागीहरूलाई प्रेरित गरे। “तालिमको वास्तविक उपलब्धि सिकेका कुरा व्यवहारमा लागू गर्दा मात्र देखिन्छ,” उनले भने।

तालिममा सहभागी देबी रावलले तालिमले आफूहरूमा नयाँ उत्साह र आत्मविश्वास थपिएको बताए। “पहिले के गर्ने भन्ने अन्योल थियो, अहिले खेतीपाती र पशुपालनमार्फत केही गर्न सकिन्छ भन्ने हौसला जागेको छ,” उनले भने।

नेपाल सरकारले अपाङ्गताको प्रकृति र गम्भीरताका आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। पूर्ण अशक्त ‘क’ वर्ग, अति अशक्त ‘ख’ वर्ग, मध्यम अशक्त ‘ग’ वर्ग र सामान्य अशक्त ‘घ’ वर्गका व्यक्तिहरूलाई विभिन्न प्रकारका सेवा, सुविधा तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिँदै आएका छन्। यस्ता सीपमूलक तालिमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सहायता मात्र होइन, आत्मनिर्भर जीवनयापनतर्फ समेत अग्रसर गराउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। सहभागीहरूले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन्।