काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणमा नयाँ दिल्लीमा छन्। आइतबार भारत पुगेका प्रधानमन्त्री शाहको भ्रमणको दोस्रो दिन आज विभिन्न महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम तय भएका छन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा रहेका शाहले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए।
आजको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको मुख्य कार्यक्रमअन्तर्गत प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा हुने उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत छलफलका विषय र उपलब्धिबारे जानकारी गराउने कार्यक्रम छ। यसै क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमै श्रव्यदृश्य माध्यमबाट रेलसेवाको संयुक्त उद्घाटन गर्ने कार्यसूची पनि रहेको छ।
द्विपक्षीय वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउनेछ। त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य अघि बढाउन विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारीहरू सहभागी छन्। टोलीमा व्यवसायी तथा सञ्चारकर्मीहरू पनि रहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका ५२ जना प्रतिनिधि पनि आफ्नै खर्चमा प्रधानमन्त्रीसँगै भारत भ्रमणमा गएका छन्।
दुईदिने भारत भ्रमणका कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यतालिका छ। उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत साँझ ६:३५ बजे नेपाल आइपुग्नेछन्।








तपाईंको विचार लेख्नुहोस्