बुच्चाकोट बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते


काभ्रे।

काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बिपी राजमार्गमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब २ बजे बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेपछि दुर्घटना भएको हो।

दुर्घटनाका बेला बसमा चालकसहित २४ जना सवार रहेको बताइएको छ। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको टोली पुगेर उद्धार कार्य गरेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकहरूको पहिचान तथा थप विवरण संकलन भइरहेको छ।