स्याङ्जा।
स्याङ्जाका स्थानीय तहले संघीय सरकारबाट चार अर्ब भन्दा बढी अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३-८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार जिल्लाका स्थानीय तहले ४ अर्ब ५८ करोड ९३ लाख अनुदान पाउने भएका हुन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिसमा जिल्लाका ११ स्थानीय तहमध्ये ५ नगरपालिकालाई २ अर्ब ६३ करोड ५६ लाख र ६ गाउँपालिकालाई १ अर्ब ९५ करोड ३७ लाख गरी ४ अर्ब ५८ करोड ९३ लाख अनुदान दिने भएको हो । स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान अन्ततर्गत संघीय सरकारले अनुदान दिदै आएको छ ।
अन्तर सरकारी वित्तीय हस्तान्तरणमा जिल्लाका स्थानीय तहलाई समानीकरण अनुदानतर्फ १ अर्ब १२ करोड २३ लाख विनियोजन गरिएको छ । सशर्त अनुदानमा ३ अर्ब १३ करोड १९ लाख छुट्याइएको छ । विशेष अनुदानमा १५ करोड ४१ लाख उपलब्ध गराउने सरकारले समपुरक अनुदानतर्फ १८ करोड १० लाख विनियोजन गरिएको छ । जिल्लाका नगरपालिकामध्ये सबैभन्दा बढी वालिङ नगरपालिकाले ६१ करोड १६ लाख पाउने भएको छ । त्यस्तै पुतलीबजार नगरपालिकाले ५९ करोड २७ लाख पाउँदा गल्याङ् नगरपालिकाले ५६ करोड ३६ लाख पाउने भएको छ । विवरण अनुसार चापाकोट नगरपालिकाले ४६ करोड ९४ लाख पाउँदा भीरकोट नगरपालिकाले ३९ करोड ८३ लाख पाउने भएको छ ।
गाउँपालिकातर्फ बिरुवा गाउँपालिकाले ३६ करोड ३९ लाख पाउँदा कालीगण्डकी गाउँपालिकाले ३५ करोड ९४ लाख पाउने भएको छ । त्यस्तै आँधीखोला गाउँपालिकाले ३४ करोड ६८ लाख पाउनेछ भने हरिनाश गाउँपालिकाले ३१ करोड ९६ लाख पाउने भएको विवरणमा उल्लेख छ । त्यसैगरी अर्जुनचौपारी गाउँपालिकाले २९ करोड ४ लाख पाउनेछ भने फेदीखोला गाउँपालिकाले २७ करोड ३६ लाख मात्र पाउने भएको विवरणमा उल्लेख गरिएको छ । स्थानीय तहले समानीकरण अनुदानतर्फ न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनका आधारमा अनुदान पाउने गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२-८३ को तुलनामा आउँदो वर्ष जिल्लाका स्थानीय तहले पाउने अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुदान अन्तर्गत १६ करोड ८८ लाख घटेर आएको जनाइएको छ । चालु वर्षमा ४ अर्ब ७५ करोड ८१ लाख अनुदान पाएका स्थानीय तहले आउँदो वर्ष ४ अर्ब ५८ करोड ९३ लाख मात्रै पाउने भएको जनाइएको छ । सबैभन्दा बढी पुतलीबजार नगरपालिकाको १५ करोडको हाराहारीमा अनुदान रकम घटेको छ भने कालीगण्डकी गाउँपालिकाको ६ करोड भन्दा बढी अनुदान रकम घटेर आउने भएको छ । वालिङ नगरपालिकालाई ५ करोड बढी अनुदानमा कमी आउँदा भीरकोट नगरपालिकाको करिब ३ करोड घटेको छ । त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको १ करोड बढी अनुदान रकम घटेको छ । चालु वर्षको तुलनामा गल्याङ नगरपालिकाले ४ करोड बढी अनुदान रकम पाउँदा चापाकोट नगरपालिकाको करिब ३ करोड बढेको पाइएको छ । त्यस्तै बिरुवा गाउँपालिकाको २ करोड बढी अनुदान बढ्दा हरिनाश तथा फेदीखोला गाउँपालिकाको एक÷एक करोड र आँधीखोला गाउँपालिकाको झण्डै एक करोड अनुदान रकम बढेको जनाइएको छ ।











प्रतिक्रिया