लमजुङ।
लमजुङको दोर्दी गाउँपालिकाले विद्यालय शिक्षालाई व्यवहारिक, उत्पादनमुखी र आत्मनिर्भर बनाउने अभियानअन्तर्गत विद्यार्थीलाई कृषि तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । यही अभियानलाई थप सशक्त बनाउन गाउँपालिकाले पालिकाभित्रका दुई विद्यालयलाई मौरीसहितका घार वितरण गरेको छ ।
गाउँपालिकाको कृषि सेवा इकाइमार्फत नौथर स्थित चैत्यन्वयदय माध्यमिक विद्यालयलाई १० वटा र मञ्ज्याङ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई पाँच वटा मौरीसहितका घार वितरण गरिएको हो । विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीलाई व्यवहारिक कृषि शिक्षासँग जोड्ने उद्देश्यले मौरीसहितका घार उपलब्ध गराइएको कृषि सेवा इकाइ प्रमुख निराजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौरीपालनबाट उत्पादन हुने मह विद्यार्थीको पोषण सुधारमा उपयोगी हुने अपेक्षा गरिएको छ भने यसले विद्यार्थीलाई व्यवसायिक सीप सिकाउने अवसरसमेत प्रदान गर्नेछ ।
त्यसै गरी चैत्यन्वयदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले पालिकाको पुतलीफाँट क्षेत्रमा रहेको करिब ९ रोपनी जग्गामा धान खेती गर्दै आएका छन् । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको सक्रिय सहभागितामा करिब ५० मुरी धान उत्पादन हुने गरेको विद्यालयले जनाएको छ । उत्पादन भएको धान विद्यालयको दिवा खाजामा प्रयोग गरिन्छ भने बाँकी धान बिक्री गरी विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री खरिद गरिने गरिएको छ ।
यसका साथै सोही विद्यालयका विद्यार्थीहरुले विद्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । पढाइसँगै व्यावसायिक सीप सिक्ने अवसर पाएका विद्यार्थीहरुले उत्पादनमूलक कार्यमार्फत आत्मनिर्भर बन्ने अभ्यास गरिरहेका छन् ।
त्यसैगरी लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय परिसरमै व्यावसायिक च्याउ खेती गर्दै आएका छन् । गत मंसिर महिनादेखि सुरु गरिएको च्याउ खेती वर्षमा दुई सिजन सञ्चालन हुने गरेको छ । विद्यार्थीहरुले उत्पादन गरेको च्याउ स्थानीय बजारमा बिक्री गर्ने तथा आवश्यकताअनुसार नजिकका बजारमा होलसेलमा समेत बिक्री गर्ने गरेका छन् ।
ग्रामीण क्षेत्रका विद्यालयमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यार्थीहरुमा कृषि, पशुपालन तथा उद्यमशीलताप्रति रुचि बढाएको छ । व्यवहारिक शिक्षामार्फत विद्यार्थीलाई उत्पादनसँग जोड्न र भविष्यमा स्वरोजगार बन्न प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको कृषि सेवा इकाइ प्रमुख पौडेलको भनाइ छ ।
उहाँले विद्यालयस्तरबाटै कृषि तथा व्यवसायिक सीप विकास गराउन सके भविष्यमा दक्ष जनशक्ति उत्पादन हुने बताउँदै मौरीपालन, च्याउ खेती, धान खेती तथा कुखुरापालनजस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गरिने जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले विद्यालयलाई केवल पठनपाठनको केन्द्रमा सीमित नराखी उत्पादन र सीप विकासको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यार्थीलाई व्यवहारिक ज्ञान, उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने यस्ता कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
अध्यक्ष अधिकारीले विद्यालयमा सञ्चालन भइरहेका कृषि तथा पशुपालन कार्यक्रमले विद्यार्थीलाई श्रमको सम्मान, उत्पादनको महत्व र उद्यमशीलताको संस्कार सिकाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा लागू गरिएको ‘पढ्दै कमाउँदै’ अवधारणाले विद्यार्थीलाई शिक्षासँगै सीप, उत्पादन र आम्दानीको अवसर प्रदान गर्दै ग्रामीण शिक्षामा नयाँ उदाहरण स्थापित गरेको छ ।











प्रतिक्रिया