प्रहरीले खाली गरायो अधिवेशनस्थल: रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित


हेटौंडा । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयनका लागि जारी अधिवेशनमा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतिनिधि छनौट र मतदाता नामावलीसम्बन्धी विवाद चुलिएपछि निर्वाचन समितिले मतदान कार्यक्रम रोक्ने निर्णय गरेको हो । किनकि, निर्वाचन प्रक्रिया मतदान सुरु भएको करिब आधा घण्टामै विवादमा तानिएको थियो ।

अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये करिब ४ सय जनाको वैधानिकतामाथि प्रश्न उठाउँदै उजुरी परेपछि विवाद थप गहिरिएको थियो । विशेषगरी पार्टी समायोजनबाट आएका सदस्यहरुको प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको बताइएको छ । निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको मतदाता नामावलीमाथि सुरुदेखि प्रश्न उठे पनि उम्मेद्वारी दर्ता प्रक्रिया अघि बढाइएको थियो । तर, विवाद समाधान हुन नसकेपछि बुधबारका लागि तय गरिएको मतदान कार्यक्रम सञ्चालन हुन सकेन ।

निर्वाचन समितिले मतपत्रमा देखिएका प्राविधिक त्रुटि, प्रतिनिधिसम्बन्धी उजुरी तथा व्यवस्थापकीय पक्षलाई मिलाउन समय आवश्यक परेकाले निर्वाचन कार्यक्रम रोकिएको जानकारी दिएको छ । सबै विषय टुङ्ग्याइएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिनेछ । निर्वाचन प्रक्रिया स्थगित भएसँगै अधिवेशनस्थलको गतिविधि प्रभावित बनेको छ । मतदानको प्रतीक्षामा रहेका प्रतिनिधिहरु अन्यौलमा परेका छन् भने कतिपय प्रतिनिधि घर फर्किन थालेका छन् ।

रास्वपा प्रदेश नेतृत्व चयनका लागि आयोजित अधिवेशनमा १ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । निर्वाचन समितिले सबै विवाद समाधान गरेर नयाँ मतदान मिति तोक्ने तयारी भइरहेको जनाएको छ । रास्वपा बागमती प्रदेशको अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित भएको छ । अधिवेशनअन्तर्गत प्रतिनिधि निर्धारणमा समस्या हुँदा निर्वाचन कार्यतालिका प्रभावित भएको हो ।

अधिवेशनअन्तर्गत निर्वाचन समितिले मंगलबार दिउँसो १ः१५ देखि २ः४५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरेको थियो भने ४ः३० देखि ४ः४५ सम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची थियो । पालिका र जिल्लाबाट प्राप्त प्रतिनिधिहरुको नामावली रुजु गरी केही त्रुटि हटाउन समय लागेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेशको अधिवेशनस्थल प्रहरी लगाएर खाली गराइएको छ । जसका कारण रास्वपा केन्द्रीय निर्वाचन समितिले स्पष्टीकरण सार्वजनिक गरेको छ । रास्वपा बागमती प्रदेश अधिवेशनअन्तर्गत् निर्वाचन कार्यक्रम प्राविधिक कारण देखाउँदै स्थगित गरिएपछि केन्द्रीय निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको हो ।
केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार जेठ २६ गतेदेखि सुरु भएको अधिवेशनलाई थप व्यवस्थापनका लागि जेठ २७ गते विहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । उक्त विषयमा केही व्यक्तिले अधिवेशन रद्ध भएको भ्रम फैलाएपछि प्रतिनिधिहरु मतदानस्थलबाट फर्किएको उहाँले बताउनुभयो ।

आयोगले अधिवेशन रद्ध नभइ केही समयका लागिमात्र स्थगित गरिएको जनाएको छ । मतपत्रमा देखिएका त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न केही समय लाग्ने भएकाले निर्वाचन कार्यक्रम सारिएको विज्ञप्तिमा उल्लेख छ । करिब ४ सय जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरुको उचित सम्बोधन गर्न, प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई सहज बनाउन निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ । निर्वाचन प्रक्रिया सुचारु हुनुभन्दा कम्तीमा २४ घण्टाअगाडि आधिकारिक सूचना जारी गरिने भनिएको छ ।

रास्वपा प्रदेश सभापतिमा ४ जनाको उम्मेद्वारी कायम छ । २ सांसद्सहित ५ जनाले उम्मेद्वारी दिएकोमा ४ जनाको उम्मेद्वारी कायम रहेको हो । मंगलबार राति अबेर निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । जसअनुसार काभ्रेबाट निर्वाचित सांसद् बदन भण्डारीले उम्मेद्वारी फिर्ता गर्नुभएको छ । सार्वजनिक गरिएका उम्मेद्वारहरुको अन्तिम नामावलीअनुसार सभापतिमा रामेछापका हरिबहादुर खत्री, नुवाकोटका डा. अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल हुनुहुन्छ ।

रास्वपा बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको छ । असार ७, ८ र ९ गते चितवनमा हुने पार्टीको पहिलो महाधिवेशनअघि बागमती प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयन प्रक्रिया टुङ्गिएको हो । सिन्धुपाल्चोकमा भने अधिवेशन सुरु भए पनि नेतृत्व चयन प्रक्रिया स्थगित गरिएको छ ।

सिन्धुपाल्चोकमा नेतृत्वका आकांक्षी धेरै देखिएपछि तत्काल सहमति जुट्न सकेको छैन । प्रदेश अधिवेशन नजिकिँदै गएकाले सिन्धुपाल्चोकको नेतृत्व चयन प्रक्रियापछि टुङ्ग्याउने सहमति भएको छ । ‘सिन्धुपाल्चोकमा अधिवेशन सुरु भए पनि नेतृत्वमा सहमति जुट्न सकेन । आकांक्षी धेरै हुनुहुन्थ्यो । त्यसैले तत्कालका लागि स्थगित गरी पछि टुङ्ग्याउने सहमति भएको छ । केही गरी पनि सहमति जुटाउन नसकिए प्रदेश अधिवेशन सकेर सिन्धुपाल्चोकको अधिवेशन गर्ने सोचिएको छ ।

बागमतीका अधिकांश जिल्लामा नेतृत्व प्रक्रिया टुङ्गिएसँगै रास्वपाको ध्यान अब राष्ट्रिय महाधिवेशनतर्फ केन्द्रित भएको छ । जिल्ला अधिवेशनबाट स्थानीय तहमा संगठनलाई औपचारिक संरचनामा लैजाने, नेतृत्वलाई वैधानिकता दिने र महाधिवेशनका लागि प्रतिनिधि तथा सांगठनिक आधार तयार गर्ने काम अघि बढेको रास्वपाले जनाएको छ ।