डिजाइन परिवर्तनको चक्रमा चन्द्रपुर रेल ओभरब्रिज, निर्माण अवधि लम्बिने

1.41k
Shares

रौतहट। 

 मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–८ मा निर्माणाधीन रेल ओभरब्रिज समयमै नबन्ने भएको छ ।

 रौतहटको सदरमुकाम गौर आवात जावतको लागि सहज हुने हेतुले २०७९ असार २३ गते सम्झौता भएको रेल ओभरब्रिज निर्माणमा ढिलासुस्ती र गलत डिजाईनका कारण समयमै नबन्ने भएको हो । पटक पटक प्राविधिक लागत फेर्दै निर्माण अघि बढाउदा निर्माणमा ढिलाई हुदै आएको थियो तर पहुचमार्ग बनाउने क्रममा ५ फिटमानै पानी निस्केपछि ढिलासुस्ती गर्दै आएको निर्माण ब्यबसायी लाई म्याद थपको लागि सजिलो भएको छ । 

 शुरुमै माटो परिक्षणा गर्नु पर्ने थियो त्यसो नगरीकनै निर्माण कार्य अघि बढाइएपछि लागत रकम समेत बढ्न गएको छ ।  नेपाल सरकारको रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना अन्तर्गत निर्माण भइरहेको उक्त पुलको सम्झौता अवधि ०८३ असार २२ गते सकिदै छ । आकाशे पुलको लागि पिलर ढडयाइसकेको भएता पनि पहुँच मार्ग ( रयाम ) राख्न ५ फिटमै पानी निस्केपछि लागत ईस्टिमेटनै फेर्नु पर्ने अबस्था सृजना भएको हो । 

उक्त पुलको दुई पटक डिजाइन परिवर्तन भैसकेको जनाइएको छ । ३८ करोड ११ लाख रुपैयाँ लागतको परियोजनाको निर्माण जिम्मा सुनसरीको धरान स्थित सूर्य एण्ड सन्स प्रालिले पाएको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत सिमरा खण्डमा पर्ने चेन ४८+९८० मा निर्माणाधीन उक्त सडक माथिल्लो पुलको भौतिक प्रगति भने अपेक्षाअनुसार हुन सकेको छैन । पुलको मुख्य संरचना पिलर निर्माण भए पनि पहुँच मार्ग तथा अन्य आवश्यक काम हुन नसक्दा निर्माणाधीन पुलको लागि बनाइएको अस्थाईमार्गमा चल्ने दुई पाङ्गे्र सबारी साधन र पैदल यात्री लाई धुलो र हिलाम्मेले सास्ती खेप्नु परेको छ ।

  स्थानीयवासीले निर्माणको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन् । उक्त पुलेको म्याद थप्ने हो भने अझै दुई बर्ष भन्दा बढि निर्माणमा लाग्ने औँल्याइएको छ । नेपाल सरकारको रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना लालबन्दि सर्लाहीका डिभिजन ईन्जिनियर किरण कार्कीले ओभरब्रिजको पहुचमार्गको डिजाईनै परिवर्तन गर्नु पर्ने बताउनु भयो । उहाँले डिजाइन परिबर्तन पछि कामले गति लिने बताउनु भयो । रेलमार्ग विस्तारसँगै सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन निर्माण थालिएको यो पुल समयमै सम्पन्न नहुँदा परियोजनाको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ ।