बन्द सरकारी उद्योगमा आशाको किरण : हेटौँडा कपडाको परीक्षण उत्पादन सुरु


काठमाडौं ।

लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानलाई पुनर्जीवन दिने प्रयासले गति लिन थालेको छ। हेटौँडा कपडा उद्योगमा मेसिन मर्मतपछि परीक्षण उत्पादन सुरु भएसँगै सरकारी उद्योग पुनः सञ्चालनको सम्भावनाबारे नयाँ आशा पलाएको छ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको बताएका छन्। उनले इमानदार प्रयास, कानुनको प्रभावकारी कार्यान्वयन र टिमवर्कमार्फत राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना विकास समितिलाई सुधारका उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ। जीएमपी मापदण्ड प्राप्त गरेपछि उत्पादन तथा बिक्रीमा सुधार आएको र चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।

त्यस्तै, नेपाल वायुसेवा निगमको आम्दानी र जहाजको सीट उपयोगितामा समेत सुधार आएको प्रधानमन्त्रीको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको तथा सो अवधिमा सीट उपयोगिता ८६ प्रतिशत पुगेको उनले उल्लेख गरेका छन्।

दुग्ध विकास संस्थानमा किसानको दूधको बक्यौता भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको तथा दैनिक बिक्री र राजस्वमा वृद्धि भएको प्रधानमन्त्रीको भनाइ छ। संस्थानले घ्यू, बटर र छुर्पी निर्यातको तयारीसमेत गरिरहेको जनाइएको छ।

सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन र कारोबारमा पनि सुधार आएको बताइएको छ। गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

हेटौँडा कपडा उद्योग भने पुनः सञ्चालनको तयारीसँगै परीक्षण उत्पादनको चरणमा पुगेको छ। लामो समयदेखि बन्द रहेको उद्योगका मेसिन मर्मत, सानो परिमाणमा परीक्षण उत्पादन र प्राविधिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ।

प्राप्त जिम्मेवारीअनुसार नेपाली सेनाले उद्योगका मेसिनको प्रारम्भिक मर्मतसम्भार गरी परीक्षण उत्पादन अघि बढाएको हो। तान (लुम) मर्मतपछि परीक्षणका रूपमा कपडा उत्पादनसमेत सुरु गरिएको जनाइएको छ।

परीक्षण उत्पादनलाई उद्योग पुनः सञ्चालनको सम्भाव्यता परीक्षणका रूपमा हेरिएको छ। यस क्रममा मेसिन तथा प्रविधिको अवस्था, उत्पादन क्षमता, आवश्यक जनशक्ति, उत्पादन लागत र सम्भावित सञ्चालन मोडलबारे प्राविधिक मूल्यांकन गरिनेछ।

परीक्षणपछि तयार हुने प्राविधिक प्रतिवेदन सरकारलाई बुझाइनेछ। सोही प्रतिवेदनका आधारमा उद्योगलाई नियमित रूपमा सञ्चालन गर्ने वा अन्य उपयुक्त मोडल अपनाउनेबारे सरकारले निर्णय गर्ने तयारी गरेको छ।

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु हुनु सरकारी उद्योग पुनर्जीवनको प्रयासमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यद्यपि, उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन पुराना मेसिन, उत्पादन लागत, बजार प्रतिस्पर्धा, व्यवस्थापन, दक्ष जनशक्ति र बजार सुनिश्चितताजस्ता विषयमा ठोस समाधान आवश्यक हुनेछ।

प्रधानमन्त्री शाहले रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानलाई पनि इमानदार व्यवस्थापन, प्रभावकारी समन्वय र देशप्रतिको समर्पणमार्फत पुनः सञ्चालनमा ल्याउन सकिने विश्वास व्यक्त गरेका छन्। सरकारी उद्योगलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने अभियानमा सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको उनको भनाइ छ।