कविरस शर्मा
काठमाडौं।
नेपालको दुर्गम हिमाली जिल्ला हुम्लाको सिमिकोट, जहाँ न त सहज रूपमा इन्टरनेटको पहुँच छ, न त प्रविधि क्षेत्रमा काम गर्ने कसैको मार्गनिर्देशन नै । त्यही विकट ठाउँमा जन्मेका सुदीप रोकायाको सुरुवाती सपना केवल नेपालकै कुनै राम्रो क्याम्पसमा सिभिल इन्जिनियरिङ पढ्नुमात्र थियो । बाल्यकालमै परिवारबाट टाढा रहेर आवासीय विद्यालयमा छात्रवृत्तिमा पढेका सुदीपको जीवनमा असली मोड तब आयो, जब उनी १२औँ कक्षामा राष्ट्रिय साइन्स ओलम्पियाडमा प्रथम हुँदै पोल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरी उत्कृष्ट अंक ल्याउन सफल भए । यो अभूतपूर्व सफलताले उनको आत्मविश्वास यसरी बढायो कि उनले विश्वविख्यात विश्वविद्यालयहरूमा आवेदन दिने साहसिक निर्णय लिए । तर, सफलताको बाटो कहिल्यै सहज हुँदैन । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को आवेदन दिने अन्तिम रात तीव्र टाउको दुखाइ र बाँकी रहेका प्रक्रियाका कारण आशा मारेर उनी सुतेका थिए । तर, साथीहरूको निरन्तरको दबाब र सहयोगले अन्तिम समयसीमा सकिन मात्र २३ सेकेन्ड बाँकी छँदा उनको आवेदन दर्ता भयो, र त्यही २३ सेकेन्डले उनको भाग्यको ढोका सधैँका लागि खोलिदियो । नतिजा, उनले एमआईटीमा छात्रवृत्तिसहित प्रवेश पाए ।
विश्वका चर्चित र प्रतिभाशाली मस्तिष्कहरूले भरिएको एमआईटीको प्राङ्गणमा पुग्दा सुरुमा उनी केही हतोत्साहित भएका थिए, किनकि धेरैजसो सहपाठीहरू वर्षौँदेखि कोडिङ र सफ्टवेयर निर्माणमा निपुण थिए । तर, सुदीपले पछि हट्नुको साटो आर्टिफिसियल इन्टेलिजन्स (एआई) र विशेष गरी ‘टेक्स्ट–टु–भिडियो’ प्रविधिमा आफूलाई पूर्ण रूपमा समर्पित गरे । एमआईटीमै अध्ययनका क्रममा उनको भेट अर्का प्रतिभाशाली नेपाली युवा कार्तिकेश मिश्रसँग भयो । दुवैले मिलेर शिक्षा र प्रविधि क्षेत्रलाई एआई भिडियोका माध्यमबाट रूपान्तरण गर्ने ध्येयका साथ ‘ल्यामिना ल्याब्स’ को स्थापना गरे । लगातार अहोरात्र खटेर आफ्नो अवधारणालाई मूर्तरूप दिने उनीहरूको अटल समर्पणले छिट्टै ऐतिहासिक सफलता हासिल ग¥यो । फेब्रुअरी २०२६ मा ल्यामिना ल्याब्स विश्वकै प्रतिष्ठित स्टार्टअप एक्सेलेरेटर ‘वाई कम्बिनेटर’ मा छनोट हुने पहिलो पूर्ण नेपाली संस्थापक टोली बन्यो । वाई कम्बिनेटरबाट ५ लाख डलरको प्रारम्भिक सहयोग प्राप्त गरेपछि सुदीपले एमआईटीको अध्ययन स्थगित गर्दै आफ्नो सम्पूर्ण ध्यान कम्पनी विस्तारमा लगाए । सान फ्रान्सिस्को (सिलिकन भ्याली) सरेको यो नेपाली जोडीले छिट्टै थप ३० लाख डलरसहित कुल ४.८ मिलियन अमेरिकी डलरको ठूलो वैदेशिक लगानी जुटाउन सफल भयो ।

ल्यामिना ल्याब्सको मुख्य उत्पादन ‘सिमी’ ले प्रयोगकर्ताले दिएको लिखित निर्देशन (टेक्स्ट प्रम्प्ट) वा कागजातको आधारमा सेतोपाटी शैली (ह्वाइटबोर्ड) का शैक्षिक भिडियोहरू एक मिनेटभन्दा कम समयमै तयार पार्छ । सुदीपको गृहजिल्लाको विकट गाउँ ‘सिमीकोट’ को नामबाट नामकरण गरिएको यो एआई टुलले भाषा, स्वर र ढाँचा चयन गर्ने सुविधा उपलब्ध गराउँछ । जसमा नेपालीसहित ८० भन्दा बढी भाषाहरू समावेश छन् । दृश्यका माध्यमबाट जटिल विषयवस्तु सजिलै बुझाउन सकिने भएकाले सुरुमा शिक्षा क्षेत्रलाई लक्षित गरी बनाइएको भए पनि हाल यसको प्रयोग साना तथा घरेलु व्यवसायीहरूले आफ्ना उत्पादन र सेवाको प्रवद्र्धनका लागि तीव्र रूपमा गरिरहेका छन् । बजारमा उपलब्ध अन्य एआई टुलहरूको तुलनामा सिमी धेरै छिटो, सस्तो र गुणस्तरीय छ । यो केवल बाहिरी मोडलहरूको सहारा लिने ‘एलएलएम ¥यापर’ मात्र नभई मेसिनको गहिराइमै चल्ने ‘डिप टेक’ प्रविधिमा आधारित भएकाले भिडियो निर्माणको लागत निकै कम हुन्छ । नेपालजस्ता विकासोन्मुख देशका दुर्गम क्षेत्रका विद्यालय र शिक्षकहरूले समेत सजिलै प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यसको निर्माण लागत र सञ्चालन खर्च न्यूनतम राखिएको छ । अमेरिकाको सिलिकन भ्यालीमा दिनप्रतिदिन तीव्र बन्दै गएको प्रतिस्पर्धात्मक वातावरणमा अघि बढ्न दुवै संस्थापकहरू चौबिसै घण्टा केन्द्रित भएर अहोरात्र खटिरहेका छन् ।
वाई कम्बिनेटरको सशक्त सञ्जाल, मार्गदर्शन र निरन्तरको मूल्यांकनले उनीहरूको कार्यक्षमतालाई अझ निखारेको छ । वाई कम्बिनेटरको ‘डेमो डे’ मा आफ्ना योजनाहरू प्रस्तुत गर्नुअघि नै पहिलो लगानीकर्ताले मागबमोजिमको सम्पूर्ण रकम लगानी गर्न तयार हुनुले उनीहरूको प्रविधि र सोचको सफलतालाई पुष्टि गर्छ । समान पृष्ठभूमि र भाषा–संस्कृतिका कारण एक–अर्कालाई बुझ्न र सहकार्य गर्न सहज भएको बताउने सुदीप र कार्तिकेशको यो सफलताले नेपाली युवाहरूका लागि प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नयाँ ढोका खोलिदिएको छ । हुम्लाको विकट गाउँबाट सुरु भएर सिलिकन भ्यालीको शिखरसम्म पुगेको यो चामत्कारिक यात्रा केवल एक टोलीको सफलतामात्र होइन, यो त इच्छाशक्ति र दृढता भए असम्भव भन्ने शब्द नै रहँदैन भन्ने अकाट्य प्रमाण हो । सुदीपको आफ्नै शब्दमा, “दृढता भनेको निरन्तर कडा मिहिनेत गरिरहनुमात्र होइन, यो त आफ्नो जीवनको सबैभन्दा खराब क्षणलाई अन्तिम निर्णय लिन नदिनु हो ।” आज सुदीप रोकाया र कार्तिकेश मिश्रको यो अद्वितीय सफलताले नेपालका दूरदराजमा रहेका लाखौँ बालबालिका तथा युवाहरूलाई आफ्ना सपनाहरू जतिसुकै असम्भव देखिए पनि तिनलाई पच्छ्याउने र विश्व जित्ने अद्भुत ऊर्जा र प्रेरणा प्रदान गरिरहेको छ ।











प्रतिक्रिया