रास्वपा लमजुङको सभापतिमा सापकोटा निर्वाचित

470
Shares

लमजुङ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सभापतिमा अशोक सापकोटा निर्वाचित हुनु भएको छ । पदका उम्मेदवारहरुबीच सहमति भएपछि भोला शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको र सापकोटा सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो ।

आइतबार सम्पन्न निर्वाचनमा कुल १ सय ७६ मत खसेको थियो । सभापति पदका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि शीर्ष दुई उम्मेदवार अशोक सापकोटा र भोला शर्माबीच सोमबार पुनः मतदान हुने तय भएको थियो । निर्वाचनमा सापकोटाले ६९ मत र शर्माले ४९ मत प्राप्त गर्नुभएको थियो । अन्य उम्मेदवारमध्ये हरिबहादुर धितालले ३३ मत, विजय रञ्जन पौडेलले १६ मत तथा नवराज पहाडीले ७ मत प्राप्त गर्नुभएको थियो ।
पुनः मतदानको तयारी भइरहेका बेला दुई उम्मेदवारबीच सहमति जुटेपछि भोला शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । त्यससँगै अशोक सापकोटा जिल्ला सभापतिमा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, उपसभापतिमा सन्तोषी गौली ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । सचिव पदमा मिना खड्का ११९ मतसहित विजयी हुनुभएको छ भने सहसचिव पदमा गोविन्दबहादुर घले ६६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

सदस्य पदमा सविता अधिकारी बराल १०४ मतसहित निर्वाचित हुनुभएको छ। त्यसैगरी सुरेन्द्रलाल श्रेष्ठ ७७ मत, सिंहबहादुर घले ६४ मत तथा श्याम गुरुङ ६४ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित नेतृत्वले पार्टीलाई जिल्लामा थप सशक्त बनाउँदै संगठन विस्तार र जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।