जेनजी आन्दोलनमा बालबालिका ‘ह्युमन शिल्ड’ बनाइएको आयोगको निष्कर्ष


काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा बालबालिकालाई ‘ह्युमन शिल्ड’का रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ।

आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक डा. लिली थापाले आन्दोलनका क्रममा मानव अधिकारविपरीत गतिविधि भएको बताइन्। आयोगले ४३७ भिडियो क्लिप अध्ययन गर्दा करिब ३५ भिडियो वास्तविक प्रमाणित भएका र तिनमा हिंसात्मक गतिविधिमा उक्साउने सामग्री भेटिएको जनाएको छ।

प्रतिवेदनअनुसार बालबालिकालाई अगाडि राख्ने, बम बनाउन सिकाउने तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्न उक्साउने गतिविधि देखिएको छ। आयोगले उत्तेजक भूमिका खेलेका ५४ जनाको पहिचान गर्दै उनीहरूमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।