एक बालबालिका ”एउटा रुख” अभियानअन्तर्गत वृक्षारोपण तथा बिरुवा वितरण

0
Shares

लमजुङ।

विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालले “प्रकृतिको प्रेरणा, जलवायुको ऐना, हाम्रो उज्ज्वल भविष्य : एक बालबालिका, एउटा रुख” अभियानअन्तर्गत वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सुरु गरेको छ।

अभियानअन्तर्गत शुक्रबार, शनिबार र आइतबार गरी विभिन्न स्थानमा २ हजार २ सय बिरुवा रोप्ने लक्ष्य राखिएको छ। अभियानको पहिलो दिन शुक्रबार बेँसीसहर नगरपालिका–११ स्थित जनकल्याण माध्यमिक विद्यालय चिति, बेँसीसहरका मैगुम र गाउँशहर क्षेत्र, सुन्दरबजार क्षेत्रस्थित महादेवी आधारभूत विद्यालय, बाल आदर्श माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ । त्यसैगरी दोर्दी गाउँपालिका–८ स्थित जयदेवी माध्यमिक विद्यालय तथा दोर्दी–९ स्थित बराहमिलन आधारभूत विद्यालय परिसरमा समेत बिरुवा रोपिएको छ।

कार्यक्रमअन्तर्गत वर्ल्ड भिजनमा दर्ता भएका १ हजार ९ सय बालबालिकालाई सुन्तला, ओखर, लिची, एभोकाडो तथा अस्ट्रेलियन कटुसलगायतका फलफूल तथा बहुउपयोगी बिरुवा वितरण गरिएको छ। ती बिरुवाहरू बालबालिकाले आफ्नै घर तथा समुदायमा रोप्ने गरी प्रदान गरिएको जनाइएको छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङका अनुसार अभियानको पहिलो दिन मात्रै करिब ४ सय ५० बिरुवा वितरण तथा वृक्षारोपण गरिएको छ। बालबालिकालाई प्रकृतिसँग जोड्नुका साथै पोषणयुक्त फलफूल उत्पादनतर्फ प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार सुन्तला, ओखर, लिची, एभोकाडोलगायतका बिरुवाले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै भविष्यमा बालबालिकाको पोषण सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। बालबालिकालाई बाल्यकालदेखि नै प्रकृतिप्रति माया, जिम्मेवारी र दायित्वबोध गराउँदै वातावरणीय संरक्षकका रूपमा विकास गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।

अभियानले बालबालिकामा वातावरण संरक्षणप्रति जिम्मेवारी बोध गराउनुका साथै हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

आगामी दुई दिन पनि विभिन्न विद्यालय तथा समुदायमा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ। बालबालिकाको सक्रिय सहभागितासहित सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणको सन्देश समुदायस्तरसम्म पुर्‍याउने विश्वास गरिएको छ।