काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परराष्ट्र नीति पार्टीको विषय नहुने बताएका छन् । शुक्रबार भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारेकाे अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा उनले परराष्ट्र मामिला पार्टीपिच्छेको नहुने बताए ।
“परराष्ट्र मामिलासम्बन्धी विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, राष्ट्रको परराष्ट्र नीतिजस्ता विषय पार्टीपिच्छेको हुँदैन । देशको हुन्छ,” उनले भने ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा परराष्ट्रले आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए । “सरकारका प्रमुख प्रधानमन्त्री भएका हिसाबले आफूले बोलेको कुरा सरकारले त्यसको बारेमा के कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति नै जानकारी गराइसकेको छ,” उनले भने, “त्यो नै सरकारको आधिकारिक धारणा हो ।”
उनले थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता नदेखिएको बताए । “हामीले यो भन्न खोजेको हो भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने देख्दिनँ,” उनले भने ।











प्रतिक्रिया