विश्व वातावरण दिवसमा वक्तृत्वकला प्रतियोगिता, दिया तामाङ प्रथम

564
Shares

लमजुङ।

विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल⁠ सँगको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालद्वारा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा युवाको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक नवराज अधिकारीले गर्नुभएको थियो।

प्रतियोगितामा कक्षा ८ की दिया तामाङ प्रथम, कक्षा ८ कै सुप्रिया तामाङ द्वितीय र कक्षा ८ की रोजी तामाङ तृतीय हुन सफल भएका छन्। त्यसैगरी, सान्त्वना स्थान कक्षा ७ का समीर तामाङ र कक्षा ९ की सम्झना तामाङले प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले वातावरण संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। उहाँले बालबालिकालाई प्रकृतिसँग जोड्दै वातावरणप्रति जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। विश्व वातावरण दिवसको सन्देशलाई समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आरसिडिसी नेपालले जनाएको छ।