काठमाडौं ।
पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता अत्यन्त फलदायी र सकारात्मक भएको बताउनुभएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बुधबार भएको झन्डै एक घण्टा लामो भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई विकास, कनेक्टिभिटी र आपसी विश्वासको नयाँ आधारमा अगाडि बढाउने विषयमा गहन छलफल भएको उहाँले जानकारी दिनुभएको छ ।
भेटपछि सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले नेपाल र भारतले विगतका सीमितता, अवरोध तथा अप्ठ्याराहरूलाई नाघेर विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने आवश्यकता रहेको विषयमा दुवै पक्षबीच समान बुझाइ बनेको बताउनुभएको छ ।
लामिछानेले प्रधानमन्त्री मोदीसँगको संवादलाई नेपालको भविष्य, क्षेत्रीय सहकार्य र साझा समृद्धिको दृष्टिकोणबाट महत्वपूर्ण अवसरका रूपमा वर्णन गर्नुभएको छ । उहाँले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक सीमाभित्र मात्र सीमित नरही साझा सभ्यता, संस्कृति, आर्थिक विकास र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् ।
‘आज सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टाको अत्यन्त उपयोगी र फलदायी वार्तामा सहभागी हुन पाउनु वास्तवमै खुसीको विषय थियो,’ लामिछानेले एक्समा लेख्नुभएको छ, ‘नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्छ भन्ने तपाईंको दृष्टिकोणसँग म पूर्ण रूपमा सहमत छु ।’
उहाँका अनुसार भेटवार्ताको प्रमुख केन्द्रबिन्दु साझा सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउने, डिजिटल कोरिडोरको विकास, व्यापार तथा लगानी विस्तार र दुई देशबीचको सहज कनेक्टिभिटीलाई प्राथमिकता दिने विषय रहेको थियो । दुवै नेताले भौतिक पूर्वाधारसँगै डिजिटल पूर्वाधारलाई पनि भविष्यको आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
लामिछानेले नेपाल र भारतबीचको साझेदारीलाई परम्परागत सम्बन्धको सीमाभन्दा माथि उठाएर विश्वास, प्रगति र साझा हितमा आधारित बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । ‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारीको वास्तविक निर्माण गर्न सक्छौँ’ – उहाँले लेख्नुभएको छ ।
रास्वपाले नेपाल र भारतका जनताबीच साझा समृद्धि हासिल गर्ने दिशामा यस्ता सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाएको छ । लामिछानेले आफ्नो दल विकास, सुशासन, आर्थिक सहकार्य तथा जनस्तरको सम्बन्धलाई मजबुत बनाउने विषयमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको सन्देश दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले पनि भेटपछि सामाजिक सञ्जालमार्फत लामिछानेसँगको भेटलाई सकारात्मक भन्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभएको थियो । यद्यपि, दुवै नेताबीच भएका सम्पूर्ण छलफलको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
रास्वपा स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्व, नीति निर्माता, उद्योगी तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँगसमेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत सम्बन्धका समसामयिक विषयमा संवाद बढाउनुका साथै आर्थिक, व्यापारिक र प्रविधिगत सहकार्यका सम्भावनाबारे छलफल गर्नु रहेको बताइएको छ ।
लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री मोदीसँगको भेटलाई नेपाल–भारत सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ । विशेषगरी पछिल्ला वर्षहरूमा दुई देशबीच ऊर्जा, पूर्वाधार, व्यापार, डिजिटल सेवा र सीमा व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार भइरहेका बेला भएको यो भेटले भविष्यमा नयाँ साझेदारीका सम्भावना थप खुल्न सक्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया