काठमाडौं।
इतिहासका केही दिन केवल पात्र वा घटनाको सम्झना मात्र हुँदैनन्, ती सम्पूर्ण राष्ट्रको सामूहिक स्मृति बन्छन् । नेपाली जनताका लागि २०५८ साल जेठ १९ गते शुक्रवार राती कालरात्री बन्न पुग्यो । एउटा यस्तो दिन, जसले एकै रातमा देशलाई शोक, अन्योल, त्रास र अविश्वासमा धकेल्यो । आज त्यस घटनाको २५ वर्ष पूरा भएको छ, तर त्यस रातको पीडा, त्यसपछिका दिनहरूको बेचैनी र नेपाली जनमानसमा उठेका प्रश्नहरू अझै पूर्ण रूपमा मेटिएका छैनन् । यो एउटा अविष्मरणीय घटनाका रुपमा स्थापित इतिहास बनेको छ ।
त्यो रात नारायणहिटी राजदरबारमा पारिवारिक रात्रीभोज चलिरहेको थियो । दरवारभित्र भएको घटनाले केवल तत्कालीन राजा वीरेन्द्रको परिवारलाई मात्र होइन, एउटा राष्ट्रको भावनात्मक आधारलाई हल्लाइदियो । लाखौं नेपालीका लागि तत्कालीन राजा वीरेन्द्र राष्ट्रिय एकताको प्रतीक थिए । त्यसैले घटनाको खबर बाहिर आउँदा धेरैले सुरुमा विश्वास नै गर्न सकेनन् । विस्वास पनि कसरी गर्ने त्यत्रो सुरक्षा घेराभित्र राजारानी सहित राजपरिवारको बंशनै सकियो ।
म त्यतिबेला धुलिखेलमा थिएँ । रेडियो नेपालमा कार्यरत पत्रकार साथी सावित्री केसीसँग बसेर साधना मासिकका लागि एउटा सामग्री तयार गरिरहेको थिएँ । रात छिप्पीदै थियो । काम सकेर विश्रामको तयारी गर्दै गर्दा रातको १२ बजेको समयमा फोनको घण्टी बज्यो । फोनको अर्कोपट्टि हुनुहुन्थ्यो कामना पब्लिकेशन्सका संस्थापक तथा प्रधान सम्पादक स्वर्गीय पुष्करलाल श्रेष्ठ । उहाँको स्वरमा असामान्य गम्भीरता अत्यास मिसिएको थियो । उहाँले भन्नुभयो, “दरबारमा ठूलो घटना भएको खबर आएको छ । अवस्था बुझ्दैछु । अफिस आउँन तयार भएर बस्नू ।”
यति सुन्नासाथ मनमा अनगिन्ती प्रश्न उठे । अनायासै तपाई पुष्करसर बोल्नुभएको हो भन्ने मेरो शब्द नटुंगिदै उहाँले म पुष्कर नै बोलेको हो, मोबाईलमा ब्याट्री कम छ, बत्ती छैन, बाहिर सेनाको हेलिकोप्टरमा मान्छे ओसारेको ओसरेकै छ । म डल्लुको घरबाट सैनिक अस्पताल छाउनीको दृश्य हेरिरहेको छु, अब अफिस जानुपर्छ भनेर फोन काट्नुभयो । नेपालमा यस्तो घटना सम्भव छ भन्ने कल्पना कसैले गरेको थिएन । केही समयपछि समाचार पुष्टि हुन थाल्यो र देशले आफ्नो इतिहासको सबैभन्दा पीडादायी रात भोगिरहेको महसुस ग¥यो ।
त्यो बेला सामाजिक सञ्जाल थिएन । अनलाइन समाचारको पहुँच पनि थिएन । सञ्चारमाध्यमहरूको जिम्मेवारी अत्यन्त ठूलो थियो । समाचार कक्षहरूमा एउटै दबाब थियो—सत्य के हो ? धेरै हल्ला, अनुमान र अपुष्ट दाबीहरू बजारमा फैलिरहेका थिए । तर पत्रकारिताको धर्म भनेको हल्ला होइन, सत्य, तथ्य र निष्पक्ष समाचार खोज्नु हो । यही बेला स्वर्गीय पुष्करलाल श्रेष्ठले हामीलाई बारम्बार सम्झाउनुभएको एउटा वाक्य आज पनि स्मरणीय छ—“समाचारमा सबैभन्दा पहिलोसँगै सही हुनुपर्छ ।” त्यो वाक्य संकटका बेला पत्रकारिताको मूल मन्त्र बनेको थियो । नेपाल समाचारपत्रले दरवार घटनाको समाचार नेपालको पत्रकारितामा पहिलो भएर नै छापेको थियो ।
भोलिपल्ट बिहान देशभरि सन्नाटा थियो । रेडियो नेपाल र नेपाल टेलिभिजनले नियमित कार्यक्रम रोकेर शोकधुन मात्र बजाएका थिए । सडकमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाइएर घोडचडी सहितको परेड गरिरहेको थियो । जनताको मनमा आक्रोश, पीडा, अन्योल र जिज्ञासा एकसाथ थियो । म धुलिखेलबाट काठमाडौं मोटरसाईकलमा जाँदा बाटोमा सन्नाटा छाएको थियो । भारी मनले मोटरसाईकल चलाउँदा अब राजा नभएपछि देशमा के हुन्छ । यस्ता अकल्पनिय घटना कसरी भयो ? जिज्ञासाको भारी लिएर कामना प्रकाशनको अफिसमा पुगे । अफिस पुगेपछि अफिसले चालकदल र वितरकको सहजताका लागि समाचारपत्र बोकेको गाडिमा मलाई भक्तपुर र बनेपासम्म पुगी सघाउन पुष्करसरले निर्देशन दिनुभयो । मैले बाटोमा एउटै दृश्य देखेँ—मानिसहरू समाचार खोजिरहेका थिए । कतिपयले एउटा पत्रिका दशौ जनाले पालैपालो पढिरहेका थिए । कतिपयले फोटोकपी गरेर अरूलाई पढाइरहेका थिए । बाटोमा केवल सुरक्षाकर्मी र प्रेसका गाडि बाहेक कुनै गाडि गुडेका थिएनन् । चालक प्रकाश घिमिरे बाटो बाटोमा जुलुस र टायर बालेको दृश्य देखेर आत्तिदै थिए । म उनलाई हौसला दिँदै सडकको भिडमा पत्रिका दिदै र बुझाउँदै अगाडिको सिटमा बसेर यात्रा गरिरहेको थिए ।
त्यो केवल समाचारको खोजी थिएन । त्यो एउटा राष्ट्र सत्यको खोजीमा भौतारिरहेको दृश्य थियो । देशमा कर्फ्यु लागेको थियो । त्यसपछिका दिनहरू झन् कठिन थिए । राजपरिवारका सदस्यहरूको अन्त्येष्टि, राष्ट्रिय शोक, सुरक्षा सतर्कता र राजनीतिक अन्योलबीच सञ्चारमाध् यमहरू तथ्य संकलन र सार्वजनिक जानकारी प्रवाहमा केन्द्रित थिए । त्यो बेला एउटा महत्वपूर्ण पाठ स्थापित भयो—राष्ट्र संकटमा पर्दा सञ्चारमाध्यमले भावनामा बगेर होइन, जिम्मेवारीका साथ काम गर्नुपर्छ । आज २५ वर्षपछि फर्केर हेर्दा त्यो घटनाले केवल राजनीतिक इतिहासलाई मात्र मोडेन, पत्रकारिताको भूमिकालाई पनि नयाँ रूपमा परिभाषित ग¥यो । संकटको समयमा नागरिकलाई सही सूचना दिनु राज्यको पहिलो दायित्व हो । सूचना अभावले हल्ला जन्माउँछ, हल्लाले अविश्वास जन्माउँछ र अविश्वासले सामाजिक अस्थिरता बढाउँछ । त्यसैले कुनै पनि राष्ट्रिय संकटमा राज्यका निकायहरूले छिटो, पारदर्शी र विश्वसनीय सूचना प्रवाह गर्न सक्नुपर्छ ।
त्यसैगरी सञ्चारमाध्यमले पनि प्रतिस्पर्धाभन्दा सत्यलाई प्राथमिकता दिनुपर्छ । अपुष्ट सूचना, उत्तेजक प्रचार वा अनुमानमा आधारित सामग्रीले समाजलाई थप विभाजित गर्न सक्छ । संकटका बेला मिडिया सूचना दिने मात्र होइन, समाजलाई संयमित बनाउने माध्यम पनि हो । समय बितेको छ । नयाँ पुस्ता जन्मिएको छ । देशले विभिन्न राजनीतिक परिवर्तनहरू भोगेको छ । तर जेठ १९ नेपाली इतिहासको एउटा गहिरो अध्यायका रूपमा सधैं स्मरण रहीरहनेछ । त्यो दिन धेरैका लागि राष्ट्रिय शोकको दिन थियो । धेरैका लागि अभिभावक गुमाएको पीडाको दिन थियो । र पत्रकारिताका लागि जिम्मेवारी, संयमता र सत्यप्रतिको प्रतिबद्धताको कठोर परीक्षा थियो ।
आज, २५ वर्षपछि पनि, त्यो कालरात्रिले हामीलाई एउटै पाठ सम्झाइरहेको छ—राष्ट्र संकटमा पर्दा सत्यको खोजी कहिल्यै रोकिनु हुँदैन, तर सत्य खोज्ने यात्रामा संयमता, जिम्मेवारी र मानवीय संवेदना झन् आवश्यक हुन्छ ।











प्रतिक्रिया