टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम आयोजना


काठमाडौँ
रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रालिले मेटासँगको सहकार्यमा ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गर्दै नेपालमा संवादात्मक व्यापारको सम्भावना र व्हाट्सएप बिजनेस एपीआईको प्रयोगबारे व्यापक छलफल गरेको छ । कार्यक्रममा विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो ।

टेलि डिजिटलले मेटा र गुगलको आधिकारिक साझेदारका रूपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारमार्फत ग्राहकसँग प्रत्यक्ष र प्रभावकारी सम्बन्ध विस्तार गर्ने उपायबारे जानकारी दिइएको थियो । कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक एल्बर्ट टियोङले मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा व्हाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो । मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक साता एक अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने तथ्य प्रस्तुत गर्दै नेपालमा व्हाट्सएपको बढ्दो प्रयोगले व्यवसायिक म्यासेजिङको ठूलो सम्भावना रहेको बताइएको थियो ।

मेटाका प्रतिनिधिहरूले नेपाल व्यवसायिक म्यासेजिङका लागि उत्साहजनक चरणमा पुगेको उल्लेख गर्दै साना पारिवारिक पसलदेखि राष्ट्रिय बैंकसम्म सबै प्रकारका व्यवसायले व्हाट्सएप बिजनेस प्लेटफर्म प्रयोग गर्न सक्ने वातावरण तयार भइसकेको बताएका थिए । ग्राहकसँगको संवाद पहिले नै व्हाट्सएपमा भइरहेकाले अब ब्रान्डहरू पनि त्यसको हिस्सा बन्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले पाँच दशकभन्दा बढी समयदेखि नेपाली व्यवसायहरूको वृद्धि र प्रगतिमा रमेश कर्प साझेदार बन्दै आएको उल्लेख गर्दै टेलि डिजिटलमार्फत स्थानीय सहयोग, स्थानीय भुक्तानी सुविधा तथा विश्वस्तरीय डिजिटल प्लेटफर्ममा सहज पहुँच उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो ।

टेलि डिजिटल सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत नवांकुर सुदले ग्राहक–केन्द्रित डिजिटल इकोसिस्टम निर्माणमा कम्पनी केन्द्रित रहेको बताउँदै व्हाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहक जहाँ छन् त्यहीँ पुगेर व्यक्तिगत अनुभूति हुने संवाद गर्न सक्षम बनाउने धारणा राख्नुभयो । उहाँले ‘द कनभरफरेन्स’ नेपाली बजारलाई आधारबाट निर्माण गर्ने प्रतिबद्धताको प्रतीक भएको समेत बताउनुभयो ।

टेलि डिजिटल सर्भिसेस प्रालि रमेश कर्प अन्तर्गत सञ्चालनमा रहेको संस्था हो। कम्पनीले गुगल एड्स, मेटा एड्स, गुगल वर्कस्पेस तथा व्हाट्सएप बिजनेस एपीआई सेवा स्थानीय भुक्तानी सुविधा, स्थानीय विशेषज्ञता र नेपालमै उपलब्ध समर्पित सेवासहित प्रदान गर्दै आएको जनाएको छ ।