काठमाडौं ।
आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएका तीन जना पक्राउ परेका छन्।
पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको हो।
पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका–२ स्थायी घर भई हाल गोदावरी नगरपालिका–१० बस्ने ३३ वर्षीय श्याम चौलागाई रहेका छन्। उनले जापान पठाइदिने भन्दै दुई जनाबाट कुल २ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई २०८३ जेठ ३१ गते ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, पाँचथर फाल्गुनन्द गाउँपालिका–६ स्थायी घर भई हाल गोदावरी नगरपालिका–६ बस्ने २० वर्षीय सुजन घतानी विक पनि पक्राउ परेका छन्। उनले क्रोएसिया पठाइदिने भन्दै चार जनाबाट ८ लाख ४० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको आरोप छ। उनलाई पनि जेठ ३१ गते ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो।
त्यसैगरी, बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्दै आएका ४३ वर्षीय यामराज खत्रीलाई समेत वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्धको ठगी रकम तथा पीडितको संख्या सम्बन्धी विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई आधिकारिक रूपमा अनुमति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन तथा आकर्षक तलब र छिटो भिसाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। साथै यस्ता ठगीका घटनाबारे जानकारी भए तत्काल प्रहरी वा वैदेशिक रोजगार विभागमा उजुरी दिन अनुरोध गरिएको छ।











प्रतिक्रिया