काठमाडौँ
हस्तकला क्षेत्रले लाखौं स्वरोजगार अवसर सिर्जना गर्दै आएको छ। भारत, चीन लगायत तेस्रो विश्वका देशहरूमा वार्षिक करिब २८ अर्ब बराबरका हस्तकला वस्तुहरू निर्यात हुँदै आएको सन्दर्भमा नेपालमा पनि यस क्षेत्रलाई कृषि उद्योगपछि ठूलो सम्भावनायुक्त उद्योगका रूपमा विस्तार गर्न सकिने बताइएको छ ।
यही उद्देश्यलाई अघि बढाउँदै जिल्ला तथा प्रदेशस्तरीय हस्तकला संघहरूको संयोजनमा “नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो २०२६” आयोजना गरिने भएको छ । उक्त कार्यक्रम २०८३ जेठ ८ देखि १० गते (२०२६ मे २२ देखि २४) सम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्यान्क्वेट एण्ड इभेन्ट्स प्रा. लि. मा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको मुख्य उद्देश्य जिल्ला तथा प्रदेशस्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी तथा प्रचार–प्रसार गर्नु, मेलामार्फत आयआर्जन वृद्धि गर्दै जिल्ला संघहरूको सशक्तीकरणमा सहयोग पु¥याउनु, हस्तकला उद्योगको व्यवसायिक विकास गर्नु, स्थानीय उद्यमीलाई बजारसँग जोड्नु, परम्परागत सीप र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु र आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनु रहेको छ ।
मेलामा हस्तकला प्रदर्शनी तथा बिक्री, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उद्योगी तथा कलाकार–कालिगढहरूको सीप प्रदर्शन तथा परम्परागत परिकार (एथनिक फुड) को स्वाद प्रस्तुत गरिनेछ । “मेक इन नेपाल, मेड इन नेपाल” अवधारणाअनुसार नेपाली हस्तकला तथा निर्यात सम्भावनायुक्त वस्तुहरूका करिब ७० वटा स्टलहरू रहनेछन् ।
मेलामा काठमाडौं उपत्यकासहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङ लगायत जिल्लाका स्थानीय संघहरूको सहभागिता रहनेछ ।
यस मेलाबाट स्थानीय हस्तकला उत्पादनको बजार विस्तार हुने, उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क स्थापित हुने, सीप र क्षमताको विकास हुने तथा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
मेलाको प्रचार–प्रसारका लागि इमेल, इन्टरनेट, सामाजिक सञ्जाल, ब्यानर तथा प्रत्यक्ष पत्राचार जस्ता माध्यम प्रयोग गरिएको छ । साथै मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यस कार्यक्रमका साझेदार संस्थाहरूमा प्रमोटेड पार्टनरका रूपमा हेल्भेटास नेपाल, लजिस्टिक पार्टनर एभरेस्ट डी कार्गो प्रा. लि., ट्राभल पार्टनर लक्की ट्राभल, प्रिन्टिङ पार्टनर बिजय अफसेट, इन्स्योरेन्स पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड, मिडिया पार्टनर अभियान आर्थिक राष्ट्रिय दैनिक तथा सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, एनएमबी बैंक लगायत रहेका छन्। इभेन्ट व्यवस्थापनका लागि इभेन्ट संसार डट कम इभेन्ट म्यानेजरका रूपमा रहेको छ ।
आयोजकहरूले यस मेलाले नेपाली हस्तकला उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै दीर्घकालीन आर्थिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।











प्रतिक्रिया