काठमाडौं ।
नेकपा एमालेले पूर्वराष्ट्रपति बिद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले आजको बैठकले विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको जानकारी दिए ।
उनले अन्य विविध विषयमा पनि छलफल भएको भए पनि त्यसबारे निर्णय हुन बाँकी रहेको बताए । उनका अनुसार सचिवालयको अर्को बैठक जेठ ८ गते बस्नेछ।
एमालेले गत वर्ष साउनको पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । एघारौँ राष्ट्रिय महाधिवेशनमार्फत पार्टी नेतृत्वमा आउने तयारीसहित भण्डारी सक्रिय भएपछि अध्यक्ष ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । त्यसबेला उपाध्यक्ष बिष्णुप्रसाद पौडेल,महासचिव शंकर पोखरेल लगायतका नेताहरूले ओलीको निर्णयलाई समर्थन गरेका थिए ।
पछिल्लो समय एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला भण्डारीको पुनः सक्रियताले पार्टीभित्र नयाँ तरंग पैदा गरेको छ ।
आइतबार मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो । उक्त कार्यक्रममा एमालेका शीर्ष नेताहरूको उल्लेख्य उपस्थितिले भण्डारीको पुनरागमनलाई अर्थपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
एमालेभित्र अध्यक्ष ओलीपछि नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा बहस तीव्र भइरहेका बेला भण्डारीलाई पुनः सदस्यता दिने निर्णयलाई पार्टीभित्र नयाँ शक्ति सन्तुलनको संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ ।











प्रतिक्रिया