काठमाडौं ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी मंगोलिया प्रस्थान गरेका छन् ।
मंगोलियाको उलनबटारमा आयोजना हुने २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बब्लु मंगोलिया प्रस्थान गरेका हुन् । तेक्वान्दोका ग्योरोगी तथा पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक बब्लुले यही मे १९ देखि २६ तारिखसम्म सञ्चालन हुने विभिन्न चार अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्ने छन् ।
उनले २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपसँगै नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिप र जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
बब्लुले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए भने सन् २०२४ सेप्टेम्बर १७ देखि २५ तारिखसम्म आयोजना भएको पुम्से रेफ्री कोर्स उत्तीर्ण गरेका थिए ।
उनले अस्ट्रेलिया, जापान, भियतनाम, मलेसिया, श्रीलंका, बंगलादेश, चीनलगायतका मुलुकमा पुगेर निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । श्रीलंकामा उनी उत्कृष्ट अन्तर्राष्ट्रिय निर्णायकसमेत चुनिएका थिए । उनले रेफ्रीको नयाँ नियमका बारेमा जानकारी लिन भारत, काजकिस्तान र भियतनाममा ‘रिफ्रेसर कोर्स’ पनि लिएका छन् ।
शनिबार मंगोलिया प्रस्थान गरेका उनलाई नागार्जुन नगरपालिकाकी कार्यवहायक प्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याललगायतले बिदाइ गरेका थिए । यसैगरी २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेकी तेक्वान्दो खेलाडी सुभांगी श्रेष्ठलाई पनि बिदाइ गरिएको थियो । सुभांगी राष्ट्रिय टोलीका सदस्यसँगै मंगलबार मंगोलिया प्रस्थान गर्ने छिन् ।











प्रतिक्रिया