काठमाडौं ।
क्रिकेट वल्र्डकप लिग (सीडब्ल्यूसीएल) २ अन्तर्गत शनिबार भएको खेलमा नेपालले सानदार जित हासिल गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले माथ खुवाएको हो ।
पहिले ब्याटिङ गरेको अमेरिकाले १ सय ९६ रनको सामान्य लक्ष्य निर्धारण गरेको थियो । यसको जवाफमा घरेलु टोली नेपालले ३६.४ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।
पछिल्ला खेलहरूमा ओपनिङ ब्याटिङ कमजोर देखिएको नेपालले यस खेलमा उत्कृष्ट ओपनिङ ग¥यो । तीन खेलको ड्रपपछि खेलेका कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गर्दै जित सुनिश्चित बनाएका थिए ।
यो साझेदारी तोडिएपछि कुशल र इशान पाण्डेले कुनै थप विकेट पतन हुन नदिई नेपाललाई मीठो जित दिलाए । नेपालको ब्याटिङमा विशेष गरी कुशलले शतक र आसिफले अर्धशतक प्रहार गर्नु सकारात्मक पक्ष बनेको छ । उनीहरूको यो ब्याटिङले आगामी खेलमा थप ऊर्जा प्राप्त गर्ने अपेक्षा गर्न सकिन्छ ।
आफ्नो दोस्रो शतक प्रहार गरेका कुशल १ सय २० रनमा नटआउट रहे भने आसिफ ५८ रनमा आउट भएका थिए । इनिङमा १३ चौका र ४ छक्का प्रहार गरेका कुशलले एकदिवसीय करिअरमा आफ्नो पहिलेको उच्चतम रनलाई पनि पछि पारे ।
यसअघि उनको ओडीआईमा उच्चतम रन १ सय १५ रन थियो । उनले २०२३ मा यसै प्रतियोगिताअन्तर्गत् नेपालमै भएको नामिबियाविरुद्धको खेलमा बनाएका थिए । यस्तै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलेका इशान २० रनमा नटआउट रहे ।
यसअघि नेपाली बलरले घातक गरेपछि अमेरिकाको २ सय ५० रन पुग्ने संभावनालाई पूरै समाप्त पारिएको थियो । एक समय अमेरिका ४ विकेटको क्षतिमा १ सय ७० रनमा थियो ।
तर, दीपेन्द्रले ३ र गुलशन झाले १ विकेट तथा २ जना रनआउट गरेपछि अमेरिकाको इनिङ १ सय ७० रनबाट १ सय ९५ रनमा सकिएको थियो । अमेरिकाले अन्तिम ६ विकेट २५ रनका लागि नै गुमाएर फितलो ब्याटिङ रहेको पुष्टि समेत ग¥यो ।
सुरुमा सोमपाल कामीले २, सन्दीप लामिछाने र दीपेन्द्रले १–१ विकेट लिएका थिए । सन्दीपको यो विकेटसँगैं ओडीआईमा १ सय ४८ विकेट भएको छ । उनी १ सय ५० विकेट लिन २ विकेटले पछि छन् ।
दीपेन्द्रको ५० विकेट
दीपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध ४ विकेट लिएसँगैं करिअरमा ५० विकेट लिने सफल भएका छन् । उनी ओडीआईमा ५० विकेट लिने नेपालका चौथो बलर हुन् । यसअघि ५० विकेट लिनेहरूमा सन्दीप लामिछाने (१४८ विकेट), करण केसी (९८ विकेट) र सोमपाल कामी (९५ विकेट) हुन् । करण र सोमपाल अहिले १ सय विकेटको नजिक छन् ।
अंकतालिकामा यथावत
यो नतिजापछि अमेरिकाले जारी त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । नेपालले भने पहिलो जित हासिल ग¥यो । पहिलो खेलमा यी दुबै टोली स्कटल्यान्डसँग समान २ रनले पराजित भएका थिए ।
तर, यो नतिजाले पनि नेपाल र अमेरिकाको अंकतालिकामा कुनै हेरफेर भएन । अमेरिका ३६ अंकसहित दोस्रो स्थान र नेपाल २० अंकसहित सातौं स्थानमै यथावत रहेका छन् । शीर्ष स्थानमा ३८ अंक जोडेको स्कटल्यान्ड रहेको छ ।
शतकको तथ्यः
–नेपालको तर्फबाट ओडीआईमा ३ खेलाडीले २÷२ शतक प्रहार गरेका छन् । शतक प्रहार गर्नेहरू कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल हुन् ।
–रोहितले पपुआ न्युगिनी (१२६ रन) र यूएई (१०९ रन) विरुद्ध शतक प्रहार गरेका हुन् । रोहितको शतकीय योगदानबावजुद नेपाल दुबै खेलमा पराजित भएको ।
–दीपेन्द्रले पनि पपुआ न्युगिनी (१०६ रन) र यूएई (१०० रन) विरुद्ध शतक प्रहार गरेका हुन् । दीपेन्द्रको शतकमा पपुआ न्युगिनीसँग नेपालले हारको सामना गर्नु परेको थियो । तर, यूएईविरुद्ध भने नेपालले जितेको थियो ।
–कुशलले नामिबिया (११५ रन) र अमेरिका (१२० रन नटआउट) विरुद्ध शतक प्रहार गरेका हुन् । कुशलको शतकको सहयोगमा नेपालले दुबै खेलमा जित हासिल ग¥यो ।











प्रतिक्रिया