दोलखा चेसमा नेपालका रिसोन तेस्रो रसियन ग्रान्डमास्टरलाई उपाधि


काठमाडौं ।

दोलखामा भएको छैटौं दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा नेपाली खेलाडीले उपाधि जित्न सकेन । रसियाका ग्रान्डमास्टर किरियाकोभ पेटले उपाधि जित्दा भारतका अर्पण दास दोस्रो भए । नेपालका रिसोन थापा भने तेस्रो स्थानमा रहेका हुन् ।

पेट, दास र रिसोनले समान ७.५ अंक जोडेपनि प्रोग्रेसिभ अंकको आधारमा रिसोन उनीहरूभन्दा पछि परेका हुन् । २४७३ रेटिङका पेटले ५४.५ प्रोग्रेसिभ अंक जोडेपछि उपाधि हात पारेका हुन् । उनले १ लाख नगद पुरस्कार प्राप्त गरे ।
चरिकोटस्थित सिम्पानी सभाहलमा भएको प्रतियोगितामा २३२४ रेटिङका दासले ५३.५ प्रोग्रेसिभ अंक जोडेका हुन् । उनले नगद ६० हजार प्राप्त गरे ।

२०४० रेटिङका रिसोनको प्रोग्रेसिभि अंक ५१.५ रहेको थियो । जसले गर्दा उनलाई उपाधि दिलाउन पर्याप्त भएन । उनले नगद ४० हजारमै चित्त बुझाउनु परे ।

दोलखा चेस होम्सको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ७ राष्ट्रका १ सय ४० अन्तर्राष्ट्रिय खेलाडी सहभागी थिए । प्रतियोगितामा ५ लाख २ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।