काठमाडौं ।
एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा प्रिन्सले आर्मीका विधान अधिकारीलाई सीधा सेटमा हराएका हुन् । उनले यो खेल सहजै २१–१६ र २१–३ अंकले जितेका हुन् । एपीएफका देवराज राणा र आर्मीका प्रफुल महर्जन तेश्रो भए ।
प्रिन्सले ४ वर्षपछि राष्ट्रिय प्रतियोगिताको उपाधि जितेका हुन् । यसअघि उनले २०७९ सालमा राष्ट्रिय उपाधि जितेका थिए । योसँगैं उनले राष्ट्रिय प्रतियोगितामा दोस्रोपटक उपाधि जितेका छन् ।
महिला सिंगल्सको फाइनलमा रशिलाले तीनपटककी राष्ट्रिय च्याम्पियन नङ्शल तामाङलाई सीधा सेटमा हराएर उपाधि जितिन् । उनले २१–१८ र २१–१८ अंकले नङशललाई पन्छाएकी थिइन् ।
रशिलाको भने यो तेस्रो राष्ट्रिय उपाधि हो । तर, उनले पनि ४ वर्षपछि उपाधि जितिन् । उनले २०७६ र २०७९ सालमा यो उपाधि जितेकी थिइन् । आर्मीकाद्वय अमिता गिरी र रिहाना शेरचन तेश्रो बने ।
यसैगरी प्रिन्स र रशिलाले डबल्स विधामा पनि उपाधि जिते । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला डबल्समा रशिला र अमिताको जोडी विजेता बनेको हो ।
उक्त जोडीले कोशी प्रदेशका रोजी राई र निसम सुब्बाको जोडीलाई २१–१७ र २१–१७ को सोझो सेटमा पाखा लगाए । कोशीका नङ्शल र भावनादेवी किडम तथा नेपाल प्रहरीका सीता राई र सुष्मा श्रेष्ठको जोडी तेस्रो भए ।
पुरुष डबल्सको फाइनलमा प्रिन्स र देवराज राणाको जोडीले एपीएफकै भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा हराएको थियो । प्रहरीका सुनिल जोशी र कविर केसी तथा बागमती प्रदेशका राजु गरन्जा र सुमन शाक्यको जोडी तेस्रो भए ।
मिक्स डबल्समा भने रशिला दोस्रो स्थानमा र प्रिन्स तेस्रो स्थानमा रहे । रशिला र प्रफुलको जोडी आर्मीकै विधान र अमिताको जोडीसँग फाइनलमा पराजित भएको थियो । प्रिन्स र पूजा थाम्सुहाङ तथा प्रहरीका कविर केसी र सुष्मा श्रेष्ठको जोडी तेश्रो भए ।
प्रतियोगितामा आर्मी ३ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । आर्मीले १ लाख नगद पुरस्कार पायो । ५ स्पर्धा समावेश प्रतियोगितामा एपीएफले २ स्वर्ण जित्यो । चारदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिमका १ सय १५ खेलाडी प्रतिस्पर्धा गरेका थिए ।











प्रतिक्रिया