पुस्तक–चर्चा : उपत्यकाका मध्यमवर्गीय व्यवसायीको परिवेश बुझ्ने आँखीझ्याल

752
Shares

‘संस्कृति, समाज व व्यवसाय’ नामक पुस्तक व्यवसाय, संस्कृति र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई गहिरोरूपमा प्रस्तुत गर्ने महत्वपूर्ण कृति हो । रविन्द्रराज ताम्रकारले लेखेको यस पुस्तक लहना मिडियाले प्रकाशन गरेको हो । सो पुस्तक सामाजिक र व्यावसायिक क्षेत्रका दुई फरक क्षेत्रका विभिन्न जिम्मेवारीमा रहँदा ताम्रकारले महत्वपूर्ण ठानेर लेखेका लेखहरुको सङ्ग्रह हो । पुस्तकमा समेटिएका लेखहरू केवल व्यक्तिगत विचार वा अनुभवका अभिलेख मात्र होइनन्, ललितपुरको सामाजिक संरचना, मध्यमवर्गीय व्यवसायीको सांस्कृतिक जीवन र परम्परागत व्यवसायको यथार्थ बुझ्नको लागि एउटा आँखीझ्याल हुनेछ ।

त्यसभित्र विशेषतः डेढ दशकयताको अन्तरालमा लेखिएका लेखहरु छन् । पुस्तक केवल लेखहरूको सङ्ग्रह मात्र होइन, ललितपुरको सांस्कृतिक जीवनसँग घुलमिल भएको एक जिम्मेवार व्यवसायीको जीवनदर्शन बुझ्ने माध्यम पनि हो । पुस्तौंदेखिको तामा–पित्तल व्यवसायलाई निरन्तरता दिँदै आएका ताम्रकारले आफ्नो व्यवसायसँगै धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा कसरी सक्रिय भूमिका निर्वाह गरेका छन् भन्ने कुरा पुस्तकले जीवन्त ढंगले प्रस्तुत गर्छ । यसले पाठकलाई एक मध्यमवर्गीय व्यवसायीको सोच, मनस्थिति, संस्कार, सामाजिक चेतना र उत्तरदायित्वबोधलाई नजिकबाट बुझ्ने अवसर दिन्छ ।

आज ठूला कर्पोरेट संस्था र वित्तीय निकायहरूले ‘सामाजिक उत्तरदायित्व’ लाई प्रायः वार्षिक कार्यक्रम वा प्रचारमुखी गतिविधिमा सीमित गर्ने गरेका छन् । तर नेवाः समुदायका परम्परागत व्यवसायीहरूको जीवनशैली भने फरक छ । उनीहरू केवल राज्यलाई कर तिर्ने मात्र होइन, गुठी, जात्रा, परम्परा, सम्पदाको संरक्षण तथा प्रवद्र्धन, धार्मिक संस्कार र सांस्कृतिक संरक्षणमा श्रम, समय र साधन खर्च गरेर समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गरिरहेका हुन्छन् । पुस्तकले यही यथार्थलाई प्रभावकारीरूपमा उजागर गरेको छ । यसले गर्दा व्यवसाय र संस्कृति, समाज कसरी अन्योन्याश्रितरुपमा जोडिएको रहेछ भन्ने कुरो पनि पुस्तक पढेर बुझ्न सकिन्छ । त्यसमाथि पुस्तकको कभर पृष्ठ पनि व्यवसायी, समाज र सांस्कृतिक सम्बन्धको उजागर गर्ने किसिमको छ ।

पुस्तकमा २४ वटा लेखहरुमध्ये नेपाली भाषाका ११ वटा लेख छन् । ती लेखहरुमा तामा–पित्तल व्यवसायको चुनौती, निर्यात उद्योग र हस्तकलाको समस्या, सहकारी गरी ललितपुरको आर्थिक विकास र सम्भावनाका विषय रहेका छन् । ती प्रायजसो लेखहरु ललितपुर उद्योग वाणिज्य संघको विभिन्न जिम्मेवारीमा रहँदा उनले लेखेका थिए । संघको पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका ताम्रकारले ललितपुरमा व्यावसायिक वातावरण तयार गर्ने चेम्बरको अभियान र ललितपुरको आर्थिक सम्भावनालाई मूर्त रुप दिने हिसाबले ती लेखहरु लेखेको देखिन्छ ।

आफ्नो परिवारले पुस्तौंदेखि गर्दै आएका तामा–पित्तल व्यवसायलाई उनको पुस्ताले पनि निरन्तरता दिँदै आएका छन् । पुस्तकभित्र तामा–पित्तल व्यवसायको उतारचढाव र चुनौतीबारे एउटा लेख नै रहेको छ । नेपालले निर्यातमा तुलनात्मक लाभ लिन सक्ने एउटा वस्तु भनेको हस्तकलाजन्य सामग्री हो । यसमध्ये धातुकला, प्रस्तरकला र काष्ठकला बढीजसो ललितपुरमै उत्पादन हुने गर्दछ । यसलाई नजिकबाट ब्ुझेको र देखेको हिसाबले हस्तकलाको समस्यालाई राष्ट्रिय परिप्रेक्ष्यमा विश्लेषण गरिएको छ ।

पुस्तकको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय आर्थिक विकासमा निजी क्षेत्र र जातीय समाजबीचको सहकार्यबारे गरिएको बहस हो । नेवाः समुदायमा स्थापित विभिन्न जातीय समाज, गुठी र खलःपुचहरूलाई आर्थिक विकासको अभियानसँग कसरी जोड्न सकिन्छ भन्ने प्रश्नलाई लेखकले गम्भीररूपमा उठाएका छन् । सामाजिक तथा व्यावसायिक दुवै क्षेत्रमा सक्रिय भएकाले यी दुई पक्ष मिलेर काम गर्न सक्ने सम्भावना लेखकले देखेका छन् । यद्यपि, यस विषयमा संस्थागत तहमा अझै पर्याप्त बहस हुन सकेको छैन । बेलाबखत संयुक्तरुपमा मेला, महोत्सव आयोजना गर्ने कुरो बेग्लै हो ।

तर उनको पहिचान व्यावसायिक क्षेत्रमा मात्र सीमित छैन । दुई कार्यकाल ताम्रकार समाजको अध्यक्ष रहँदा उनले लेखका नेपालभाषाका १३ वटा लेखहरु पुस्तकमा छन् । त्यसमा जावलाखेलस्थित श्री उग्रचण्डीमाईको इतिहास, त्यहाँको अभिलेख, ताम्रकार समाजको उद्देश्य र गतिविधि, सामाजिक व्यवहार सुधार, रातो मच्छिन्द्रनाथको जात्रामा मीननाथ, पाटनमा हुने भीमसेन पूजा, गुथी विधेयकविरुद्ध आन्दोलनलगायत विविध विषय समेटिएको छ । लेखक ताम्रकार यो पुस्तकलाई सानैदेखि लेख्ने, पढ्ने बानीलाई व्यावसायिक जीवनमा, सामाजिक जीवनका दौरानमा निरन्तरता दिँदाको परिणतिका रुपमा लिन्छन् ।

पुस्तकको अर्को महत्वपूर्ण आयाम भनेको सामाजिक तथा व्यावसायिक क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका उद्देश्य, गतिविधि र तिनले समेट्ने विषयवस्तुबारे प्रकाशित अन्तर्वार्ताहरूलाई पनि समावेश गर्नु हो । विभिन्न पत्रपत्रिकामा प्रकाशित १७ वटा अन्तर्वार्ताले लेखक ताम्रकारको विचार, कार्यशैली, सामाजिक दृष्टिकोण र संस्थागत अनुभवलाई अझ स्पष्ट र जीवन्तरूपमा उजागर गरेको छ । ती अन्तर्वार्ताहरूले पुस्तकमा समावेश अघिल्ला लेखहरूलाई सन्दर्भ, घटनाक्रमको पृष्ठभूमि तथा वैचारिक स्पष्टता प्रदान गर्ने काम गरेका छन् ।

सामाजिक संस्था र व्यावसायिक संगठन दुवै क्षेत्रमा सक्रिय हुँदा ताम्रकारले सञ्चार क्षेत्रलाई आफ्ना गतिविधिको अभिन्न अंगका रूपमा सँगै लिएर अघि बढाएको देखिन्छ । स्नातकोत्तर तहमा कार्यमूलक विषयका रूपमा पत्रकारिता अध्ययन गरेका कारण पनि उनको मिडियामैत्री सोच, संवादमुखी व्यवहार र सार्वजनिक अभिव्यक्तिप्रतिको सजगता पुस्तकभरि अनुभव गर्न सकिन्छ । लेख र अन्तर्वार्ताहरूमा उनले विचारलाई केवल अभिव्यक्त गर्ने मात्र होइन, समाजसँग निरन्तर संवाद गर्ने माध्यमका रूपमा सञ्चार क्षेत्रलाई लिएको देखिन्छ ।

नेपालभाषाको मासिक पत्रिका न्हू प्रेष्टिज नेपाःलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘पत्रकारितालाई मैले एउटा सौखका रूपमा मात्र लिएको छु । यसले गर्दा पनि सञ्चार क्षेत्रको विकासका लागि केही न केही हिसाबले सहयोग गर्नुपर्दछ भन्ने सोच रहेको छ ।’ यस अभिव्यक्तिले पत्रकारिताप्रति उनको आत्मीयता मात्र होइन, सञ्चार क्षेत्रलाई सामाजिक जिम्मेवारी र चेतनासँग जोडेर हेर्ने दृष्टिकोण पनि प्रकट गर्छ ।

त्यसै गरी, नेपालभाषा पत्रकारिताबारे उनले व्यक्त गरेको धारणा पनि विचारोत्तेजक छ । नेपालभाषाको पत्रकारितामा सक्रिय अधिकांश पत्रकारहरूमा भावनात्मक समर्पण प्रशस्त भए पनि व्यावसायिक ज्ञान र सीप तुलनात्मकरूपमा कमजोर रहेको उनको ठम्याइ छ । पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि पत्रकारहरूको दक्षता, क्षमता विकास र व्यावसायिक प्रशिक्षणलाई प्राथमिकता दिनुपर्नेमा उनले विशेष जोड दिएका छन् ।

सामाजिक रुपमा सक्रिय रहँदा सर्वसाधारण तथा सामाजिक अभियन्ताहरूमा देखिने उत्तरदायित्वबोध र समर्पणको भावना व्यावसायिक जगत्मा अपेक्षाकृत कम देखिएकोमा कहिलेकाहीँ दिक्क हुने कुरा स्वीकार गर्छन् । यसले उनको सोच केवल व्यावसायिक लाभमा सीमित नभई समाजप्रति उत्तरदायी व्यावसायिक संस्कारको पक्षमा रहेको देखाउँछ । परम्परागत नेवाः समुदायमा व्यवसाय र समाजसेवा एक–अर्कासँग गाँसिएका विषय हुन् भन्ने दृष्टिकोणबाट हेर्दा उनको यो असन्तुष्टि स्वाभाविक पनि देखिन्छ ।

त्यसैगरी, आफू अरू व्यवसायीहरूजस्तो आर्थिक वा व्यावसायिक रूपमा अत्यधिक सफल हुन नसकेको उनको आत्ममूल्यांकन पनि उल्लेखनीय छ । सामाजिक तथा व्यावसायिक संघसंस्थामा लामो समयदेखि सक्रिय हुँदा घरपरिवार र आफ्नो व्यवसायलाई पर्याप्त समय दिन नसकेको कुरा उनले अन्तर्वार्तामा स्वीकार गरेका छन् ।

यो भनाइले सामाजिक जीवनमा सक्रिय व्यक्तिले भोग्नुपर्ने व्यक्तिगत र व्यावसायिक सन्तुलनको चुनौतीलाई उजागर गर्छ । सामाजिक उत्तरदायित्व र संस्थागत काममा समय खर्च गर्दा निजी व्यावसायिक उन्नतिमा असर पर्न सक्ने यथार्थलाई उनले लुकाएका छैनन् । तर यही प्रसङ्गको अर्को महत्वपूर्ण पक्ष भनेको आफ्नो कर्म, सामाजिक योगदान र समाजसेवाप्रति उनले व्यक्त गरेको आत्मसन्तोष हो ।

आर्थिक वा व्यावसायिक उपलब्धिभन्दा समाजबाट प्राप्त हुने विश्वास, सम्मान, सन्तुष्टि र सकारात्मक प्रतिक्रियालाई उनले बढी मूल्यवान् ठानेका छन् । सामाजिक सेवाबाट प्राप्त हुने आत्मिक सन्तुष्टिलाई उनले आफ्नो जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको देखिन्छ । समाज, संस्कृति, व्यवसाय र व्यक्तिगत तथा पारिवारिक जीवनबीच सन्तुलन खोज्ने क्रममा उत्पन्न हुने द्वन्द्व, त्याग र आत्मसन्तुष्टिको अनुभूति पुस्तकको मुख्य भाव बनेर आएको छ ।

ताम्रकार कु्लदेवता उग्रचण्डीमाई, उग्रचण्डी लागाको अभिलेख, ललितपुरका ताम्रकारजस्ता लेखहरू पढ्दा पुस्तक जानकारीमूलक र विवरणात्मक छ । पाठकले ललितपुरको सांस्कृतिक जीवन, परम्परा र सम्पदासम्बन्धी तथ्यवस्तुहरू सहजै बुझ्न सक्छन् । तर आर्थिक विकाससम्बन्धी लेखहरू एउटा राम्रो चाहना र सकारात्मक लक्ष्यका साथ लेखिएका जस्ता लाग्छन् । विशेषतः कला नगरीको घोषणा र आर्थिक विकासमा हुनुपर्ने काम र गर्नुपर्ने तयारीबारे उनले औंल्याएका खाँचोहरूले यस दृष्टिकोणलाई पुष्टि गर्छ ।

लेखहरूले किन कतिपय कुरा कार्यान्वयनमा आउन सकेनन् वा विफल भए भन्ने विषयमा गहिरो विश्लेषण गर्दैनन् । लेखकले यसबारे स्पष्ट कारण खुलाएर छलफल नगरेकोले पाठकलाई केही कुरा अधुरो जस्तो लाग्न सक्छ । यसको पृष्ठभूमिमा सरकारी र स्थानीय तहको कमजोरी, व्यवसायीहरुमा भिजन अभाव, पैरवीको अभाव, प्रचारमुखी काममा मात्र रमाउनेजस्ता कमजोरीहरु छन् । पारिस्थितिक जटिलता र विरोधाभाष केलाउँदा अनेक टीकाटिप्पणी आउने गर्दछ ।

त्यसमा किन बेकारमा फस्ने भन्ने आम व्यवसायीको मनोवृत्तिले उनलाई पनि गाँजेका हुनुपर्दछ । समग्रमा यो पुस्तक व्यावसायिक जीवनशैली, सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणबीचको सन्तुलन, चुनौती र त्यागलाई उजागर गर्ने कृति हो । ललितपुरको सांस्कृतिक र आर्थिक जीवनलाई बुझ्न चाहने पाठकका लागि अत्यन्त उपयोगी दस्तावेजको रूपमा पुस्तक स्थापित भएको छ ।