आज धेरै समयपछि अचानक मेरो मन पुरानो दराजतिर गयो। त्यहीँ कतै थन्किएको थियो मेरो पनि एउटा मार्कसिट …. तर त्यो मैले कहिल्यै गर्वले देखाउन सकेको थिइनँ। किनकि मेरो नतिजा “उत्कृष्ट” थिएन। मेरो एसएलसी। गान्धी डिभिजन ! त्यतिबेला परीक्षाको नतिजा आउन आधा वर्ष लाग्थ्यो। नतिजा आउँदा असार १५ कटिसकेको हुन्थ्यो होला। त्यो दिनको वातावरण अझै सम्झिन्छु। गाउँभरि कसको कति आयो भन्ने चर्चा चलिरहेको थियो होला।
कोही मिठाई बाँडिरहेका थिए होलान्, कोही भविष्यका सपनाहरू कोर्दै थिए होलान्। तर म भने दूरदराजको एकान्तमा थिएँ। जहाँ समाज थिएन, प्रतिस्पर्धा थिएन, नतिजाको हल्ला थिएन। थियो त केवल एउटा मनमोहक अनि सुन्दर संसार, जो मेरो प्यारो घरभन्दा करिब ६ घन्टाको दूरीमा थियो। गोठालो जीवनमा म आफ्नै संसारमा मस्त थिएँ। सायद , त्यसैले त्यो नतिजाले मलाई त्यति बेला भित्रैसम्म तोड्न सकेन। तर समय बित्दै जाँदा समाजका नजरहरूले बिस्तारै चिमोट्न थाले। त्यतिबेला पनि म आफूलाई कमजोर विद्यार्थी कहिल्यै ठान्दिनथेँ। तर जीवन सधैं किताबले मात्रै चल्दो रहेनछ।
त्यतिबेला डिभिजनले नै मान्छेको परिचय दिने गर्थ्यो। फस्ट डिभिजन भनेपछि समाजको गौरव। थर्ड डिभिजन भनेपछि… मानौं मान्छे नै असफल भएजस्तो। सायद त्यसैले मैले धेरै वर्ष आफ्नो नतिजा लुकाएको थिएँ होला । कसैले सोध्यो भने कुरा मोडिदिन्थे कहिलेकाहीँ मजाकमा टारिदिन्थे कहिलेकाहीँ मौन बसिदिन्थे तर आज सोच्दा लाग्छ , त्यति बेला डिभिजनले जति पेलेको थिएन, भविष्यले त्योभन्दा धेरै पेलेको थियो । आज आएर सर्टिफिकेटले होइन् बच्चाबच्चीको भविष्यको चिन्ताले सताउँछ। जीवनको हिसाबले थिच्छ। आज आएर सबै कुरा छन् मेरो नाममा केही अनुभवहरू छन्, र “ डबल मास्टर्स” का सर्टिफिकेटहरू पनि। तर समयले बिस्तारै अर्को सत्य पनि सिकायो ।
मानिसलाई एउटा कागजको खेस्रोले होइन, उसले खेपेका दुःख कसरी टार्यो भन्ने कुराले चिनाउँदो रहेछ। त्यो सर्टिफिकेट र डिभिजन मेरो अन्त्य थिएन। बरु त्यहीँबाट मेरो वास्तविक यात्रा सुरु भएको थियो। जीवनले सजिलो बाटो दिएन। संघर्षहरू आए। धेरैपटक आफूलाई अरूभन्दा पछाडि छु जस्तो लाग्थ्यो। कहिलेकाहीँ सपनाले नै थुप्रै सपना देखे। भित्रभित्रै थाकेजस्तो लाग्यो। मन थाक्यो, तर सपना थाकेनन्। र एउटा कुरा कहिल्यै हराएन , अगाडि बढिरहने बानी। जीवनले मलाई परीक्षा लियो । अनौठो बाटो हिँड्न लगायो। नियमले त ब्याचलरपछि मास्टर्स डिग्री पढ्नुपर्ने हो।
तर मेरो जीवन उल्टो दिशातिर बग्यो। बाध्यताले पहिले नेपालमै मास्टर्स पढायो। त्यसपछि विदेशमा डिप्लोमा अनि फेरि ब्याचलर डिग्री… मानौं जिन्दगीले किताबका पाना उल्टैबाट पढ्न लगाएजस्तो। किन जिन्दगीले यसरी निमोठ्यो ? किन यसरी घोक्र्यायो ? किन यति धेरै दुःख दियो ? किन नसोचेको तनाव बोकेर हिँडाउन बाध्य बनायो ? सायद जीवनसँग आफ्नै योजना थिए होलान् । त्यही संघर्षको बीचबाट एकदिन संसारका उत्कृष्ट देशमध्ये एकमा एमएस्सी पढ्ने अवसर आयो। तर त्यहाँ पनि जीवनले फूलको बाटो दिएन।
आज शिक्षित म्यानपावरको भीडमा म पनि चुपचाप जोतिइरहेको छु। बाध्य छु। सहनुपरेको छ। तर आज एउटा कुरा निर्धक्कसँग भन्न सक्छु अङ्कले बुद्धि नाप्दैन। सर्टिफिकेटले चरित्र बनाउँदैन। डिभिजनले सपना रोक्दैन। आज मेरो त्यो पुरानो मार्कसिट हेर्दा लाज लाग्दैन। बरु मुस्कान आउँछ। किनकि त्यसले मलाई सम्झाइरहन्छ । “सफलता सधैं उत्कृष्ट अङ्कबाट सुरु हुँदैन, कहिलेकाहीँ त्यो असफलताको चोटबाट जन्मिन्छ।” र त म थर्ड डिभिजनले चिनिने मानिस होइन , म संघर्षपछि पनि नरोकिने मानिस हुँ।
रामचन्द्र भट्ट हाल : स्कटल्याण्ड , युके ।











प्रतिक्रिया