राजधानीमा दुई दिने सांगीतिक महोत्सव सेकरेड हिमालयज २०२६ सम्पन्न भएको छ। युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजनामा सम्पन्न महोत्सवको पहिलो दिन गत शनिवार रुट्स एन्ड अवेकनिङ शीर्षकमा केन्द्रित थियो। मंगलमान महर्जन, ब्रबिम महर्जन र राजन महर्जनले ओपनिङ ब्लेसिङ अफ साउन्डमार्फत कार्यक्रमको सौम्य सुरुवात गरेका थिए।
हिमालयन सिङगिङ बाउल र गोङको गहिरो कम्पनले हलमा उपस्थित सबैलाई ध्यानमग्न बनाएलगत्तै गायिका सुगमा गौतम, सलिना विक, तबला वादक जगन्नाथ धौगोडा र बासुरी वादक नागेन्द्र राईको सुमधुर जुगलबन्दीले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। पहिलो दिनको प्यानल छलफलमा मंगलमान महर्जन, ब्रबिम महर्जन, अमेलिया कांग, कालिन योङ र दुर्गामणि मरानले संगीतका विविध आयाममाथि प्रकाश पारेका थिए।
कार्यशालामा तबला वादक तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकार र नृत्यकार कृपा बज्राचार्यले शरीरमा सकारात्मक ऊर्जा जागृत गर्ने कला सिकाएका थिए। सोही अवसरमा काठमाडौ युथ अर्केस्ट्राद्वारा प्रकाशित संग्स अफ नेपाल (नेपालका गीतहरू) नामक पुस्तकको लोकार्पणसमेत गरिएको थियो।
महोत्सवको दोस्रो दिन आइतवार साइन्स, सोल एन्ड सिम्फनी सत्रमार्फत् ध्वनिको वैज्ञानिक र आध्यात्मिक पक्षलाई जोडिएको थियो। त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. अर्जुन आचार्यले ध्वनिको कम्पनले मानव स्नायु प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे रोचक चर्चा गरेका थिए। महोत्सवको समापन भने निकै उल्लासमय रह्यो। डा. जोन शाप्र्लीको नेतृत्वमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको स्प्रिङ कन्सर्ट सबैको आकर्षणको केन्द्र बन्यो। उक्त कन्सर्टमा नेपालको राष्ट्रिय गानदेखि मंगल धुन, कान्छी मट्याङ ट्याङ, राजमती कुमती, उकाली ओरालीहरूमा, सीलुजस्ता मौलिक धुनलाई अर्केस्ट्रा शैलीमा प्रस्तुत गरिएको थियो।
सन् २०१८ मा सिंगापुरबाट यात्रा सुरु गरेको युनिभर्स अफ साउन्ड अभियानले यसपटक नेपालको भूमिमा आफ्नो सांगीतिक सुगन्ध फैलाएको हो। ख्यातिप्राप्त हास्यव्यंग्यकार तथा गायक मदनकृष्ण श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा परिकल्पनाकार तथा निर्देशकद्वय संगीतकार डा. जोन शाप्र्ली र सिंगापुरकी साउन्ड हिलर अमेलिया काङले महोत्सवले संगीत, नृत्य र ध्वनिलाई अनुभव गर्ने एउटा साझा मञ्च प्रदान गरेको बताइन्।











प्रतिक्रिया