–हटाउने तयारीमा रहेका उपाध्यक्ष रोकिएको सम्बन्धन दिन दौडधुप
काठमाडौं ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट (सीटीईभीटी) बाट हटाउने लिस्टमा रहेका उपाध्यक्ष मोहम्मद सफिउल्लाहले राजीनामा नदिएको विषय चर्चामा आएको छ । सरकारले अध्यादेशमार्फत सार्वजनिक पदमा नियुक्त १ हजार ५ सय ९४ जनालाई पदमुक्त गर्दा उपाध्यक्ष सफिउल्लाहलाई नहटाए पनि सीटीईभीटी भद्रगोल अवस्थामा पुगेको छ ।
अघिल्ला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको कार्यकालमा माघ ३ गते नियुक्त उपाध्यक्ष सफिउल्लाह अहिले पनि शिक्षामन्त्री सस्मित पोखरेलको निगाहामा काम गरिरहनुभएको छ । मन्त्री पुनले सीधै नियुक्ति गरेका उपाध्यक्षले नैतिकताका आधारमा राजीनामा दिनुपथ्र्यो, अहिलेसम्म सोही पदमा बसेर कार्यालयमा चलखेल गरिरहनुभएको छ । उच्चस्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हटाउने तयारी गरिरहेको छ । तर, मन्त्रालयका उच्च अधिकारीले उपाध्यक्ष हटाउने फाइल अड्काएर राखेका छन् ।
कर्मचारीमध्येबाट नियुक्ति भएका सदस्यसचिव महेश भट्टराईको पद गए पनि उपाध्यक्ष सफिउल्लाहको पद नजानु रहस्यमय देखिएको छ । स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘मन्त्रालयबाटै उपाध्यक्ष हटाउने फाइल रोकेपछि कसको के लाग्छ । चारैतिर दबाब दिँदा पनि मन्त्रालयले वास्ता गरेको छैन ।’
उपाध्यक्ष सफिउल्लाहको दबाबका कारण सीटीईभीटीका निमित्त सदस्यसचिवले हिजो बिहीबार राजीनामा दिनुभएको छ तैपनि मन्त्रालय चुप बसेको छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । सदस्यसचिव भट्टराई पदमुक्त भएपछि निमित्त सदस्यसचिवको जिम्मेवारी राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक भुवनेश्वर ढुंगानालाई दिएको थियो । उहाँले हिजो बिहीबार राजीनामा दिनुभएको छ । अब निमित्त सदस्य सचिव कसले चलाउने भन्ने विषय अन्योल भएको छ ।
उपाध्यक्षको दबाब थेग्न नसकेपछि निमित्त सदस्यसचिवले राजीनामा दिनुभयो । फेरि कसलाई जिम्मेवारी दिने निर्णय भएको छैन’ –स्रोतको दाबी छ । मन्त्रालयले वरिष्ठताका आधारमा प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अनोज भट्टराईलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिने तयारी थालेको छ ।
स्वास्थ्य र अन्य प्राविधिक संस्थानको सम्बन्धन दिने प्रमुख उपाध्यक्ष सफिउल्लाहले हटाउने तयारी गरिरहँदा फेरि सम्बन्धन दिने तयारीमा छन् । स्रोतको भनाइ छ– ‘२०६९ सालमा निवेदन दिएका संस्थालाई सम्बन्धन दिन निजी संस्थाका सञ्चालकले दबाब दिइरहेका छन् ।’
१४ वर्षदेखि सम्बन्धन लिन नसकेका करिब ४ सय ५० हाराहारीको संस्थालाई सम्बन्धन दिन कर्मचारीलाई दबाब दिइरहनुभएको छ । पुरानोलाई अनुमति दिँदा पर्न सक्ने असरको मूल्याङ्कन नगरी धमाधम सम्बन्धन दिन उपाध्यक्षले जोडबल गरिरहनुभएको सीटीईभीटीका उच्च कर्मचारीको दाबी छ ।
सरकारले सदस्यसचिव छनोट गर्ने तयारी गरिरहँदा बल्लतल्ल पदमुक्त हुनबाट जोगिएका उपाध्यक्षले संक्रमणकालको फाइदा उठाउँदै धमाधम सम्बन्धन दिने तयारी गरिरहनुभएको स्रोतको भनाइ छ । किन यस्तो बेलामा सम्बन्धन दिनुप¥यो, परिषद्का सदस्यसचिव नभएको मौका छोपेर चलखेल सुरु गरेको कर्मचारीको आरोप छ ।











प्रतिक्रिया