सामाजिक सञ्जालको दुरुपयोग : चरित्रहत्यादेखि पारिवारिक विखण्डनसम्म


–नियमनमा राज्य कमजोर

काठमाडौं ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा त्यसको दुरुपयोग पनि भयावह रूपमा फैलिएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गर्न थालेका छन् ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अश्लील सामग्री, व्यक्तिगत आक्रमण, चरित्रहत्या, अफवाह, घृणात्मक अभिव्यक्ति तथा परिवार र समाजलाई नै विखण्डन गर्ने प्रकृतिका सामग्री खुला रूपमा प्रसारण भइरहेका छन् ।

विशेषगरी फेसबुक, टिकटक, युट्युब, एक्स र अन्य डिजिटल प्लेटफर्महरूमा व्यक्तिको निजी जीवनमाथि आक्रमण गर्ने, परिवारभित्रको विवाद सार्वजनिक गर्ने, महिलामाथि लक्षित अपमानजनक टिप्पणी गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर नक्कली अडियो–भिडियो तयार गरी भ्रम फैलाउने गतिविधि बढ्दै गएको छ ।

सामाजिक सञ्जाल मूलतः मनोरञ्जन, सूचना आदानप्रदान र विचार अभिव्यक्तिको माध्यमका रूपमा विकास भए पनि पछिल्लो समय त्यसलाई व्यक्तिगत प्रतिशोध, सामाजिक विभाजन र आर्थिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको स्वीकार गर्दै कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सामाजिक सञ्जालमा हुने आपराधिक गतिविधिप्रति नेपाल प्रहरी गम्भीर छ । साइबर अपराध, चरित्रहत्या, ठगी, फेक आइडी र एआईमार्फत गरिने दुष्प्रचारका घटनामा अनुसन्धान र कारबाही भइरहेको छ । तर, प्रविधिको तीव्र विकाससँगै चुनौती पनि जटिल बन्दै गएको छ ।’

उहाँका अनुसार धेरैजसो सामाजिक सञ्जाल कम्पनी नेपालमा दर्ता नभएकाले आवश्यक सूचना तथा डाटा समयमै प्राप्त गर्न कठिन हुने गरेको छ । ‘विदेशमा रहेका सर्भर र कम्पनीसँग समन्वय गर्न समय लाग्ने भएकाले तत्काल कारबाहीमा चुनौती देखिएको छ’ –उहाँले भन्नुभयो ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रत्येक वर्ष ४० हजारभन्दा बढी साइबरसम्बन्धी उजुरी पर्ने गरेका छन् । ती उजुरीमध्ये ठूलो हिस्सा सामाजिक सञ्जाल दुरुपयोगसँग सम्बन्धित रहेको ब्युरोको तथ्यांकले देखाउँछ । साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालमा बढ्दो अराजकता नियन्त्रण गर्न कानुनी संरचना अझै कमजोर छ । ‘हामीले धेरै घटनामा अनुसन्धान गरेर पक्राउ गर्छौं’, उहाँले भन्नुभयो–‘तर विद्यमान कानुनअनुसार सामान्य जरिवाना वा छोटो हिरासतपछि आरोपित छुट्ने अवस्था छ । यसले अपराधीको मनोबल झन् बढाएको छ ।’

उहाँका अनुसार पछिल्लो समय एआई प्रयोग गरेर नक्कली आवाज र भिडियो तयार गर्ने, महिलाको तस्वीर सम्पादन गरेर अश्लील सामग्री बनाउने, व्यवसायी र सार्वजनिक व्यक्तिको चरित्रहत्या गर्ने तथा झुटा समाचार फैलाउने घटना बढेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोगका कारण धेरै परिवारमा तनाब, सम्बन्ध विच्छेद, सामाजिक बहिष्कार र मानसिक समस्या बढिरहेको मनोविद्हरू बताउँछन् ।

प्रहरी स्रोतका अनुसार यस्ता घटनाकै कारण केही व्यक्तिले आत्महत्यासमेत गरेका छन् ।पछिल्लो समय नेपाली समाजमा ‘भाइरल संस्कृति’ तीव्र रूपमा बढेको छ । कुनै व्यक्तिको निजी भिडियो, पारिवारिक विवाद वा व्यक्तिगत कमजोरीलाई मनोरञ्जनका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले सामाजिक संवेदनशीलता कमजोर बनाएको विज्ञहरू बताउँछन् ।

आईटी विज्ञ डा. विवेक पोखरेलका अनुसार नेपालले डिजिटल युगअनुसारको नियामक संरचना निर्माण गर्न ढिलाइ गरिरहेको छ ।

‘नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता तीव्र रूपमा बढे, तर नियमन प्रणाली त्यही अनुपातमा विकास भएन,’ उहाँले भन्नुभयो– ‘कम्पनीहरू नेपालमा दर्ता छैनन्, स्थानीय प्रतिनिधि छैनन्, त्यसैले सरकारले चाहे पनि तत्काल नियन्त्रण गर्न कठिन भइरहेको छ ।’

उहाँले एआईको दुरुपयोगलाई आगामी वर्षहरूमा अझ ठूलो चुनौतीका रूपमा व्याख्या गर्नुभयो । ‘अब फेक भिडियो र अडियो यति वास्तविक देखिन थालेका छन् कि सामान्य नागरिकले छुट्याउन सक्दैनन् । यसले राजनीतिक अस्थिरता, सामाजिक द्वन्द्व र साम्प्रदायिक तनाब बढाउन सक्छ’ –उहाँले चेतावनी दिनुभयो । उहाँका अनुसार डिजिटल साक्षरता अभावले पनि समस्या बढाएको छ । ‘सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै मानिसलाई के वैधानिक हो र के अपराध हो भन्ने नै थाहा छैन’ –उहाँले भन्नुभयो ।
सूचना प्रविधि विज्ञ विवेक राणाका अनुसार नेपालमा डिजिटल नीति निर्माणको प्रयास १५ वर्षदेखि हुँदै आएको छ तर ठोस प्रगति हुन सकेको छैन । अहिले सामाजिक सञ्जालले पारेको क्षति डरलाग्दो छ । व्यक्तिको चरित्रहत्यादेखि लिएर आत्महत्यासम्मका घटना बढिरहेका छन् । तर, राज्यले गम्भीरता देखाउन सकेको छैन । सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नाममा ओली सरकारले ल्याएको बिल जुन रूपमा प्रस्तुत भयो, त्यो पनि स्वतन्त्रताको हनन हुने भन्दै फिर्ता लिएपछि अहिले न त नियन्त्रणको नीति छ, न त कार्यान्वयनको अवस्था नै ।

सरकारले पटक–पटक सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन ल्याउने प्रयास गरे पनि त्यसले अपेक्षित परिणाम दिन सकेको छैन । कतिपयले नियमनलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विरोध गर्ने गरेका छन् भने अर्कोतर्फ नियन्त्रण कमजोर हुँदा अराजकता बढिरहेको छ ।

सामाजिक अभियन्ताहरूका अनुसार अहिले सामाजिक सञ्जालमा प्रयोग हुने भाषा, दृश्य र सामग्री यति आक्रामक बन्दै गएको छ कि परिवारसँग बसेर हेर्न नसकिने अवस्था सिर्जना भएको छ । महिलामाथि लक्षित गालीगलौज, बालबालिकालाई असर पार्ने सामग्री तथा जातीय र धार्मिक घृणा फैलाउने अभिव्यक्तिले सामाजिक सहिष्णुतामाथि नै प्रश्न उठाएको छ ।

विशेषज्ञहरूका अनुसार यदि समयमै प्रभावकारी कानुन, डिजिटल शिक्षा र अन्तर्राष्ट्रिय समन्वयमार्फत नियन्त्रण गर्न सकिएन भने सामाजिक सञ्जाल भविष्यमा ठूलो सामाजिक द्वन्द्वको कारण बन्न सक्छ ।

नेपालजस्तो संवेदनशील सामाजिक संरचना भएको मुलुकमा डिजिटल प्लेटफर्मको अराजक प्रयोगले पारिवारिक विखण्डन, सामाजिक अविश्वास र मानसिक तनाब बढाउने खतरा देखिएको उनीहरूको निष्कर्ष छ ।

सरकार, नियामक निकाय, सुरक्षा संयन्त्र र सामाजिक सञ्जाल कम्पनीहरूबीच प्रभावकारी सहकार्य हुन नसक्दा अहिले नेपाली समाज डिजिटल अराजकताको चपेटामा पर्दै गएको भन्दै सरोकारवालाहरूले तत्काल दीर्घकालीन नीति र कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।