अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले नेपाली स्वास्थ्य सेवाको इतिहासमा एक नयाँ र परिवर्तनकारी कदम उठाउने घोषणा गरेको छ । घोषणाअनुसार एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गर्ने जानकारी सो अस्पतालले दिएको छ ।
यस नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानले क्यान्सर निदान, उपचार, अनुसन्धान र पुनस्र्थापना सेवा एकै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ । अस्पतालका सञ्चालक मेघा चौधरीका अनुसार नेपालमा क्यान्सरको उपचारमा समग्र सेवा अभावको समस्या रहेकोमा यसलाई सम्बोधन गर्ने उद्देश्यले यो संस्थान स्थापना गर्न लागिएको हो । बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि लक्षित प्रस्तावित संस्थानले विश्वस्तरीय प्रविधि– किमोथेरापी, रेडिएसन थेरापी, प्यालिएटिभ केयरजस्ता सेवाहरू प्रदान गर्ने जनाइएको छ ।
सञ्चालक मेघा चौधरी र राजेन्द्रबहादुर सिंहका अनुसार यो नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान विश्वस्तरीय मापदण्डअनुसार उन्नत प्रविधिको प्रयोगमा आधारित हुनेछ । साथै यहाँ अनुसन्धान र शैक्षिक गतिविधिलाई पनि प्राथमिकतामा राखिनेछ । यसका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान संस्थासँग सहकार्य गरिनेछ । क्यान्सर मनोविज्ञान, जेनोमिक्सजस्ता नयाँ विषयमा अन्तर्राष्ट्रिय ज्ञान आदान–प्रदान गर्ने योजनासमेत रहेको छ ।
अस्पतालले अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार केन्द्रहरूसँग सहयोग गरी नवीनतम प्रविधि एवं अभ्यास नेपालमा ल्याउनेछ । चिकित्सक तथा वैज्ञानिकहरूबीच ज्ञान हस्तान्तरण, प्रविधि साझेदारी र अनुसन्धानमा नयाँ आयाम दिने उद्देश्य पनि यस परियोनाको रहेको छ । लगभग ३ अर्ब ५० करोड रुपियाँको लागतमा तीन वर्षभित्र यो परियोजना सञ्चालनमा ल्याउने लक्ष्य छ, जसले गर्दा क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यतामा कमी आउनुका साथै बर्सेनि विदेशिने ठूलो रकमको बचावट हुने देखिन्छ ।
यो संस्थान केवल व्यावसायिक परियोजना मात्र होइन, दीर्घकालीन संस्थागत प्रतिबद्धता र देशप्रतिको जिम्मेवारी हो । नर्भिकको यो प्रयासले स्वदेशमै उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास गर्न सकिन्छ ।
नर्भिकले नेपालमा पहिलोपटक निजी क्षेत्रबाट एकीकृत क्यान्सर उपचार संस्थान स्थापना गरी नेपाली स्वास्थ्य सेवाको इतिहासमा एउटा महत्वपूर्ण कदम उठाउन लागेको छ । अन्तर्राष्ट्रिय नर्स दिवस एवं आफ्नो ३४औं स्थापना दिवसको अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले यो घोषणा गरेको हो ।
यस अवसरमा अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सहकार्यमा उत्कृष्ट नर्सहरूलाई डेजी अवार्ड पनि प्रदान गरेको छ, जसले गर्दा नर्सिङ क्षेत्रको प्रतिष्ठा र समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएका छ । नर्भिकले उत्कृष्ट नर्स तथा कर्मचारीहरूलाई सम्मान पनि गरेको छ । अस्पतालले आगामी दिनमा पनि यस्तै नवप्रवर्तनीय कार्य गर्दै स्वास्थ्य सेवामा थप योगदान दिने विश्वास लिइएको छ । यो दीर्घकालीन संस्थागत प्रतिबद्धता हो, जसले नेपालमा विश्वस्तरीय उपचार उपलब्ध गराउनेछ । यसले आगामी दिनहरूमा स्वास्थ्य सेवाको गुणस्तरमा समेत नयाँ आयाम थप्ने विश्वास गर्न सकिन्छ ।











प्रतिक्रिया