काठमाडौं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठनपाठन कार्यघण्टा निर्धारण गरेको छ । कार्यघण्टाअनुसार वार्षिक ४५ दिनको बिदालाई ३० दिन कायम गरेको छ । यी विषयमा ६ बुँदे निर्देशन जारी गर्दै देशैभरका विद्यालय, स्थानीय तह र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर पठाएको छ ।
कार्यघण्टाअनुसार प्रत्येक दिन १५ मिनेट प्रार्थना समय, ३० मिनेट खाजा समय व्यवस्थापन गर्ने उल्लेख छ । सरकारी निर्देशन विशेषगरी सामुदायिक विद्यालयमा मात्र कार्यान्वयन हुने देखिएको छ । सोमवारदेखि शुक्रवारसम्म पूरा समय पठनपाठन सञ्चालन गर्ने र हिउँदे र बर्खे बिदा अवधि ३० दिन कायम गर्ने निर्णय भएको छ ।
यसै गरी पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिनेछ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्ने तय गरिएको छ ।
स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा समुदाय एवम् परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य शुक्रवार दिने र आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर प्रदान गर्नेु केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्यले गरेको सर्कुलरमा उल्लेख छ ।
परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२ बाट सहयोग लिन सकिने छ । यसका लागि स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमको विषयक्षेत्र समेटी परियोजना कार्य निर्माण गरी कार्यान्वयन गर्न सक्ने जनाइएको छ ।
सरकारको यो निर्णयलाई स्थानीय तहले मान्लान वा नमान्लान निर्णय हुन बाँकी छ । अधिकांश स्थानीय तहले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै धमाधम आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ । सरकारले संविधानको मर्मविपरीत गरेको निर्णय मान्नुपर्ने बाध्यकारी व्यवस्था नभएको भन्दै स्थानीय तहले आफू अनुकूल निर्णय गरिरहेको छ । सरकारले चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सबै निकाय शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो । यो निर्णय व्यावहारिक नभएको भन्दै स्थानीय तहदेखि निजी विद्यालयले समेत विरोध जनाएका छन् ।











प्रतिक्रिया