मन्त्रालयको पत्रले भुक्तानी रोकिने, कामपासँग स्वामित्व नभएको खुल्यो

0
Shares

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले ७ सेक्टरमा निर्माण गर्ने तयारी गरेको फोहोर स्थानान्तरण केन्द्रको काम तत्काल नहुने भएको छ । आफ्नो स्वामित्वमा नरहेको जग्गामा कामपाले जबरजस्ती फोहोर स्थानान्तरण केन्द्र निर्माण सुरु गरेको थियो । ठकेदार कम्पनीले निर्माणाधीन केन्द्रका लागि बजेट माग गर्दै कामपा वातवरण व्यवस्थापन विभागमार्फत दबाब दिएको थियो ।

विभागले काम सुरु गरिसकेकाले रकम दिनुपर्ने आग्रह गर्दै प्रशासन विभागलाई दबाब दिएको थियो । काम सुरु भइसकेको अवस्थामा केही रकम भुक्तानी दिनुपर्ने विषय स्वाभाविक हो । तर, प्रशासन विभागले ठेकेदार कम्पनीलाई रकम दिनुअघि जग्गाको स्वामित्वको विषय स्पष्ट हुनुपर्ने रायसहित वैशाख ११ गते संघीय मामिला तथा सामान्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।

मन्त्रालयले कामपाको स्वामित्वमा जग्गा नभएको विषय उल्लेख गर्दै वैशाख १६ मा कामपालाई पत्राचार गरेको थियो । पत्रमा महानगरपालिकाको फोहोरमैला स्थानान्तरण केन्द्र निर्माण तथा सञ्चालन गर्न जग्गा उपयोग उपयोगका लागि विभिन्न ८ वटा केन्द्रमा २२ वटा कित्ताका जग्गा सिफारिसको गर्न अनुरोध गरेको थियो ।

‘प्राप्त कागजातको अध्ययन गर्दा ११ वटा जग्गाको मात्र जग्गाधनी पुर्जा समावेश गरिएको र पुर्जामा जग्गाधनीको नाम श्री ५ को सरकार, पशुपतिनाथ भण्डार तहविल गुठी विष्णुमती खोला र फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्र उल्लेख गरिएको साथै जग्गाको विवरणमा बाटो, कुलो, खोला, पाटी आँगन र खोलाकिनारा उल्लेख गरिएको देखिन्छ’ – मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।

मन्त्रालयले जग्गा उपयोगका लागि कि आफ्नो स्वामित्वको जग्गा हुनुपर्ने, नभए सरकारसँग लिज सम्झौता गर्नुपर्ने उल्लेख गरेको थियो । पत्रमा भनिएको छ– ‘जग्गा उपयोगका लागि सिफारिस माग गरिएको विभिन्न जग्गाको विवरण हेर्दा ऐतिहासिक पुरातात्विक र सांस्कृतिक एवं मौलिक महत्व बोकेका स्थलहरू देखिन आएकाले सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यविधि (पहिलो संशोधन), २०८२ को दफा ४ (२) (ग) आकर्षक नहुने व्यहोरा निर्णयानुसार अनुरोध छ ।

’ सोही कारण कामपाले तत्काल काम गर्नसक्ने अवस्था छैन । स्रोतका अनुसार वातावरण विभागले ठकेदारलाई रकम उपलब्ध गराउँदै प्रशासनलाई पटक पटक दबाब दिइरहेको थियो ।
अब दबाबले हुँदैन कानुनी प्रक्रिया पूरा नगरी रकम दिन सकिँदैन । ७ सेक्टरमा सेन्टर निर्माण गर्न करिब २५ करोड रुपियाँमा ठेक्का लागेको थियो ।

हाल थापाथलीमा धमाधम काम सुरु भइरहेको छ । सरकारको पत्रपछि कामपा वातावरण व्यवस्थापन विभागले सो काम गर्ने कि नगर्ने दोधारमा छ । आफ्नो स्वामित्वमा जग्गा नभएको अवस्थामा कामपाले ठेक्का गर्नु नै गलत देखिएको छ । केन्द्र निर्माण गर्दा पुरातात्विक, धार्मिक स्थानमा गर्ने कि नगर्ने कामपालाई समस्या भएको छ ।

कामपाले सुक्खा फोहोर ७ सेक्टर केन्द्र निर्माण गरी सोही केन्द्रबाट दैनिक करिब ३ दशमलव १९ मेट्रिक टन फोहर ल्यान्डफिल साइट जानबाट रोक्नेगरी स्थानान्तरण केन्द्र निर्माण गर्ने तयारी गरेको थियो । सो स्थानमा संकलन भएको फोहोरबाट सुक्खा फोहर वर्गीकरण गरेर आय ठेक्कामार्फत बिक्री गर्ने तयारी थालेको थियो । घरेलु फोहोरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ ।

ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्रको व्यवस्था गरी सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आय ठेक्का कार्यविधि २०७९बमोजिम प्रतिस्पर्धीमध्येबाट सेक्टर १ को नेप्सेम्याक सेवा प्रालि छानिएको थियो । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिकटन फोहर संकलन हुने अनुमान छ ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले ठेक्का कबोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहर संकलन हुने अनुमान छ । ३ मा क्रियटिभ सरसफाइ प्रालिले ठेक्का कबोल गरेको छ ।

यसक्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिकटन फोहोर जम्मा हुने अनुमान छ । ४ मा मेची पोली इन्डस्ट्रीले कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहोर जम्मा हुने अनुमान छ ।

वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले ठेक्का लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ठेक्का कबोल गरेको छ ।

फोहोरमैलालाई स्रोतमा वर्गीकरणबाट मात्रा न्यूनीकरण गर्न, पुनः प्रयोग, पुनः चक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न फोहोरमैला संकलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ जारी गरेर कार्यान्वयनमा ल्याइएको छ । यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरोमैला संकलन, ढुवानी गर्न कार्यविधि जारी गरिएको हो ।

सोही आधारमा स्थानान्तरण केन्द्र निर्माण प्रक्रिया सुरु भएको थियो । कामपाले सहरी सौन्दर्य बिग्रनेगरी खोला किनार, पुलमुनि घनाबस्तीको खाली क्षेत्रमा स्थानान्तरण केन्द्र बनाउने तयारी गरेको थियो । आफ्नो स्वामित्वमा नभएपछि सबै काम रोकिएको छ ।

कामपाले क्षेत्र नं १ को वडा नं ७ को गंगाहिटी, २ को वडा नं ११ को थापाथली, ३ को वडा नं ६ बौद्ध, ४ को वडा नं १६ को थहिटी, ५ को वडा नं १४ बो बल्खु, ६ को वडा नं ३२ मनोहरा र ७ नम्बर सेक्टरको वडा नं १२ टेकुमा स्थानान्तरण केन्द्र बनाउन ठेक्का लागेको थियो ।