रवि ओडको वैबाहिक जीवन यथावत


गायक रवि ओडले श्रीमतीसँग सम्बन्धविच्छेदका लागि दायर गरेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सम्बन्धविच्छेद नहुने फैसला सुनाएको छ।

न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले रवि ओडको दाबी नपुग्ने ठहर गर्दै वैवाहिक सम्बन्ध यथावत रहने निर्णय गरेको हो। जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार फैसलाको पूर्ण पाठ आउन केही समय लाग्नेछ।

यसअघि रवि ओडकी श्रीमतीले उनीविरुद्ध वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनको आरोप लगाउदै गत २०८० साल चैत २० गत् इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्।

उक्त मुद्दामा सुरुमा रवि ओड ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। पछि २०८१ असारमा जिल्ला अदालतले उनलाई उक्त आरोपबाट सफाइ दिएको थियो। पछिल्लो सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा भने अदालतले सम्बन्धविच्छेदको आधार पुष्टि नभएको ठहर गर्दै श्रीमतीसँगको वैवाहिक सम्बन्ध अन्त्य नहुने निर्णय सुनाएको हो।

रवि ओड टेलिभिजन रियालिटी शो नेपाल आइडल सिजन–२ का विजेता हुन्।