अख्तियार प्रमुखलाई राजीनामा गराउन सकिए १० करोडसम्म दिने अधिकारीको वाचा

आपराधिक सोचका ‘भ्रष्ट’ अधिकारीले २ करोड पहिल्यै दिएका थिए


–राईलाई ज्यान मार्ने धम्की दिएर हटाउने र आफूअनुकूलका मान्छे भर्ती गर्ने अधिकारीको योजना

काठमाडौं ।

ठूलो भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका नेपाल नागरिक उड्यन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले अख्तियारको छानबिनबाट उम्कन अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिन प्रयोग गरेका प्रकाश पाठकलाई १० करोड रुपियाँसम्म दिने प्रतिवद्धता जनाएको खुलासा भएको छ ।

अधिकारीले राईलाई ज्यान मार्ने धम्की दिएर अख्तियारबाट राजीनामा गराउन सके आफ्नो भ्रष्टाचारका सारा कर्तुतबाट सहजै उन्मुक्ति पाइने सोच र योजनाअनुसार १० करोड रुपियाँ खर्चेर भए पनि अख्तियार प्रमुख राईलाई हटाउने प्रपञ्च रचेको खुलासा भएको हो ।

आपराधिक मनस्थितिका भ्रष्ट अधिकारीको सो योजना भने विफल भएपछि अहिले जेलको चिसो सिँढीमा बसिरहेका छन् । अधिकारीलाई यसअघि अख्तियारले करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ भने प्रमुख आयुक्त राईलाई धम्काएको आरोपमा अधिकारीसहित तीन जनाविरुद्ध प्रहरीले अर्को मुद्दा दायर गरेको छ ।

मंगलवार जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीको निर्देशनबमोजिम धम्की दिने काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको काठमाडांै प्रहरी परिसरले जनाएको छ ।

अख्तियारले सुरुमा अधिकारीविरुद्ध भक्तपुरको नलिनचोक हेलिपोर्टको भ्रष्टाचारमा अनुसन्धान अगाडि बढाएपछि प्रमुख आयुक्त राईलाई धम्काउन पाठकलाई दुई करोड रुपियाँ दिएको र धम्की दिएर राजीनामा दिन बाध्य पारे १० करोडसम्म दिने प्रतिवद्धता जनाएको खुलासा भएको हो ।

प्रहरीसँगको बयानमा पाठकले यो कुरा स्वीकार गरेका छन् । अधिकारीकै योजना अनुसार २०२५ नोभेम्बर २९ मा इमेल गर्दै पाठकले अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा दिन र नदिए ज्यान लिने धम्की दिएका थिए ।

अख्तियार प्रमुख राईले भने विचलित नभई आफूलाई आएको धम्कीका विवरणसहित प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अगाडि बढाएको थियो ।

पाठकले प्रहरीसँगको बयानमा अधिकारीसँग आफ्नो पुरानै चीनजान भएको बताएका छन् । पाठकले विभिन्न क्षेत्रमा गरेको लगानी डुबेपछि आफूमा ठगी गरेर पैसा कमाउने सोच पलाएको थियो । उनले नेपालका उच्च पदस्थ सरकारी अधिकारीहरूका साथै व्यापारीहरूबाट आर्थिक लाभ लिने उद्देश्यले एक्सट्रीमिस्ट ग्रुप अफ(उग्रवादी संगठन) नेपाल नामक संगठन पनि बनाएका थिए ।

पाठकले प्रहरीसँगको बयानमा ‘सुन्दा र हेर्दा नै डर लाग्ने, मनोवैज्ञानिक रूपमा त्रास भयावह सिर्जना हुने उग्र नाम राख्ने विचारले उग्रवादी नामबाट नेपालको अतिवादी समूह नामको संगठन बनाएको बताएका छन् ।

सन् २०२५ अक्टोबर १ मा आफू फिलिपिन्समै रहेको बेलामा नेपालमा बसोबास गर्ने विवादित नेता, व्यापारी तथा भ्रष्टाचारी कर्मचारीहरूबाट गैरकानुनी रूपमा फिरौती रकम माग गरी आर्थिक लाभ लिने उद्देश्यल विश्व क्रान्ति दिवसको दिन उक्त संगठन खोलेको पनि उनले बताएका छन् ।

यो संगठनको नामबाट उनले सुरुमा तत्कालीन क्यान महानिर्देशक अधिकारीकै ह्वाट्सएपमा र क्यानको आधिकारिक इमेल ठेगानामा फिरौतीस्वरूप एक करोड रकम आर्थिक सहयोग गर्न भनी पत्र पठाएका थिए । तर, अधिकारीले पाठकलाई फोन गरी अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिएर राजीनामा गराउन लगाएका १० करोड दिने भन्दै पाठकलाई लोभ्याएका थिए ।

पाठकका अनुसार अधिकारीको सल्लाहअनुसार नै पाठकले अख्तियार प्रमुखलाई धम्की दिँदै अख्तियारमा इमेल गरेको खुलेको छ । सुरुमा इमेल पठाएका उनले पछि भिडियो पठाएर र सामाजिक सञ्जालमा सार्वजनिक गरेर पनि ज्यान मार्ने धम्की दिएका थिए ।

अधिकारीले यति काम गरिसकेपछि पाठकलाई फिलिपिन्समै हुन्डीमार्फत २ करोड रुपियाँ पठाएको पाइएको प्रहरीले जनाएको छ । पाठकले प्रहरीसँगको बयानमा भनेका छन्–‘अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई आफ्नो पदबाट राजीनामा दिन बाध्य पार्नेखालको धम्कीपूर्ण, मार्नेसम्मको इमेल लेखी पठाउनेसम्मको आपराधिक कार्य गर्दा मैले प्रदीप अधिकारीको तर्फबाट निजले चिनेको फिलिपिन्समा बस्ने केही चिनियाँ नागरिकहरूको समूहबाट दुई पटकमा नेपाली २ करोड बराबरको रकम फिलिपिनी मुद्रा पेसोमा हुन्डीमार्फत नगदै लिएको हुँ ।

’ अख्तियार प्रमुख राईलाई धम्की दिएको पत्र पाठकले सुरुमा अधिकारीलाई नै पठाएर ठीक छ कि छैन भनेर हेर्न समेत लगाएका थिए । त्यसपछि अधिकारीले ओके गरेपछि सो पत्र पठाइएको उनले बताएका छन् । उनले यो कार्यको सम्पूर्ण डिजाइनर, योजनाकार र षड्यन्त्र गर्ने मुख्य व्यक्ति प्रदिप अधिकारी भएको बयानमा स्पष्ट खुलाएका छन् ।

पाठकले अख्तियार प्रमुखलाई धम्काउन सुरुमा अधिकारीले जेन–जी नेता अर्जुन शाहीलाई प्रयोग गरेको र शाहीले सो काम गर्न नसकेपछि आफूलाई प्रयोग गरेको बताएका छन् । पाठकले अधिकारीसँग हुण्डीको माध्यमबाट फिलिपिन्समा प्राप्त गरेको नगद ८० लाख पेसोमध्ये ७० लाख ६५ हजार पेसोले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको बताएका छन् । हुण्डीमार्फत फिलिपिन्समा रकम प्राप्त गर्ने तरिकासमेत पाठकलाई अधिकारीले नै सिकाएका थिए । अधिकारीले पाठकलाई हुण्डी रकम प्रयोग गर्ने ‘कोड’ नै दिएका थिए ।

उनले फिलिपिन्सकै एक कफीसपमा गएर चिनियाँ नागरिकमार्फत अधिकारीले हुन्डी गरी पठाएको ४० लाख पेसो नगदै लिएका थिए । त्यसको भोलिपल्ट फेरि अधिकारीले आफूले हुन्डीमार्फत पठाएको ४० लाख पेसो लिन उनलाई ‘कोड’ दिएका थिए । त्यो ‘कोड’ देखाएपछि चिनियाँ नागरिकले उनलाई रकम दिएका थिए ।

पाठकले अख्तियार प्रमुख राईलाई मार्ने आफ्नो उद्देश्य नभए पनि अधिकारीले रकम दिने आश्वासन दिएकाले पैसाको लोभले त्यो काम गरेको बयान दिएका छन् । पाठकलाई फिलिपिन्समा रकम दिने व्यक्ति भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीसँग सम्बन्धित व्यक्ति रहेको पनि पाठकको दाबी छ ।