सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश


काठमाडौं ।

 सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। साथै अदालतले आगामी वैशाख २९ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले उक्त आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

रिटमा संविधानले नदिएको अधिकार प्रयोग गर्दै आयोग गठन गरिएको तथा यसले संवैधानिक निकायहरूको क्षेत्राधिकारमा हस्तक्षेप गरेको जिकिर गरिएको छ। अदालतको आगामी सुनुवाइपछि आयोगको वैधानिकताबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।